इँटा भट्टामा बन्धब बनाइएका ४५ जना मजदुरको उद्धार

  ०७४ असार ९ गते

डाक्नेश्वरी नपा-८ पत्थरगाढास्थित बीडीआर इँटा उद्योगमा बन्धक जीवन बिताइरहेका ४५ जना भारतीय मजदुरको उद्धार गरी प्रहरीले असार ९ गते घर फर्काएको छ ।

भारतीय विदेश मन्त्रालयको आग्रह र परराष्ट्र मन्त्रालयको पहलमा भारत बिहारको नालंदा र नावदा जिल्लाका भारतीय मजदुरहरूलाई इँटा भट्टाबाट उद्धार गरी घर फर्काइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी यादवराज उप्रेतीले बताए । उद्धार गरिएकामध्ये बालबालिकाको सङ्ख्या अत्याधिक छ ।

बन्धक वनाइएकाहरुको आफन्तले भारतको बिहार प्रशासन समक्ष नेपालको सप्तरीमा आफ्ना परिवारका सदस्यहरू बन्धक वनाइएको भनी उजुरी दिएपछि भारतीय विदेश मन्त्रालयको आग्रहमा सप्तरी प्रशासनले सो समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार गरी भारत सुपौलस्थित श्रम अधिक्षक कार्यालय पठाएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले बताए ।

भारत अञ्चलाधिकारी सह प्रखण्ड विकास पदाधिकारी वारिसलीगञ्ज अञ्चलबाट ग्राम सौरका ४५ जना मजदुरहरूलाई भारत नावदा जिल्लाका ठेकेदार बिनोद रामले ०७३ असोजदेखि अलपत्रमा पारी राखेको छ भन्ने पत्र जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएपछि प्रजिअ कटवालले प्रहरीलाई बोलाएर उनीहरुको स्थिति बुझन र छिट्टै उद्धार गर्न निर्देशन दिएका थिए । प्रजिअको लिखित निर्देशनपछि जिल्ला प्रहरी कार्यालयले नजिकैको सुरक्षा वेश क्याम्प पत्थरगाडाबाट प्रहरी टोली खटाई मजदुरहरूको उद्धार गरेको हो ।

भारत बिहारको नावदा जिल्लाका ठेकेदार बिनोद रामले गत असोज महिनामा उनीहरूलाई कोलकत्ता चिमनी भट्टामा काम लगाई दिने भनी झुक्याई ग्राम सौरबाट बसमा हाली सप्तरी ल्याएका थिए ।

ठेकेदार रामले विडिआर इँटा उद्योगका सञ्चालकसँग मजदुरको नाममा करिब ४५ लाख रुपिया उठाई लगेको प्रहरीले जनाएको छ ।

उद्योग सञ्चालकले ठेकेदार राम नआउञ्जेलसम्म काम गर्नुपर्ने भनी मजदुरहरूलाई पालो पहरा दिई राखेका थिए । लामो समयदेखि घर र अन्यत्र जान नपाइने, उद्योग सञ्चालकको प्रत्यक्ष निगरानीमा काम गर्नुपर्ने र राति सुत्दासमेत पहरा राख्ने कार्यले आफूहरू बँधुवा मजदुर सरह पीडित भएको भन्दै मजदुरहरूले नेपाल प्रहरीद्वारा गरिएको उद्धारको प्रशंसा गरे ।


मनोहरकुमार पोखरेल