आवागमनमा थप कडाइ गर्ने सरकारको निर्णय

  ०७६ चैत २२ गते

सरकारले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको छ ।

चैत २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्ने सन्दर्भमा यो नै उत्तम उपाय हुन्छ भन्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणको अवधि र यसको जोखिम रहिरहुञ्जेलसम्म लकडाउनको पूर्ण पालना गराउन प्रदेश र सबै निकायलाई प्रभावकारीरुपमा काम गर्न सरकारले निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्ले कोभिड– १९ को सम्भाव्य जोखिम तथा शङ्कामा रहेका व्यक्तिको व्यापकरुपमा  परीक्षण प्रक्रिया सुरू गर्ने निर्णय गरेको मन्त्री खतिवडाले जानकारी दिनुभयो ।

बाहिरबाट आएका व्यक्तिबाट कोरोना सङ्क्रमित देखिन थालेको परिस्थितिको मूल्याङ्कन गर्दै उक्त कदम चाल्ने सरकारले निर्णय गरेको उहाँले बताउनुभयो । राससबाट


अनलाइन डेस्क