आर्थिक अभाव र आशैआशमा बाँचेका ‘विस्थापित’ बृद्ध दम्पत्ती

  ०७६ वैशाख ३१ गते

सशस्त्र द्वन्द्वपछि गाउँमै बसेर पेट पाल्ने वातावरण नभएपछि २५ वर्ष अगाडि नै रोल्पाको जेलवाङबाट ‘विस्थापित’ भएका ८७ वर्षीय दलबिरे दमाई र उनकी पत्नी विमा नेपालीले बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा कष्टकर जीवन गुजारिरहेका छन् ।

उनीहरू बझाङ जिल्लास्थित बाहुली खोला किनारमा सधैँ भेटिन्छन् । आफ्नो उमेर ८७ वर्ष पुगेको बताउने दलबिरे दमाई र उनकी पत्नी आर्थिक समस्या र संरक्षणको अभावमा बाहुली खोलाको किनारामा गिट्टि कुट्न विवश छन् ।

शसस्त्र द्वन्द्वका कारण गाउँमै बस्ने वातावरण नभएपछि बाच्नकै लागि आफूहरू बझाङ जिल्ला आइपुगेको दमाईले सुनाए ।

उनले भने–‘विस्थापित भएर बझाङ आएको २५ वर्ष पुग्यो । सुरूका दिनमा शरीरमा रगत पनि थियो ।  ठेकेदारहरूसँग मिलेर काम गरेँ । गुजारा राम्रैसँग चलेको थियो । अहिले त उमेर पनि ढल्कियो । काम गर्न नसक्ने भएपछि ठेकेदारले पत्याउन छाडे ।’

उनलाई आफ्नै जन्मथलो फर्कने रहर छ । आफ्नै गाउँघरमा पुगेर आफ्नो खेतबारी हेर्ने रहर छ । तर,  उनको आर्थिक अवस्था कमजोर भएका कारण घर फर्कनका लागि समेत खर्च नभएको गुनासो छ ।

दमाईले भने–‘बझाङमै मर्ने भइयो । रोल्पा जिल्लाको जेलवाङ गाउँमा मेरो सानो घर र कमाइ खाने खेतबारी थियो । अब त घर पनि भत्किसक्यो होला । खेतबारी पनि बाँझै होला । गाउँ फर्कने धोको थियो । तर, के गर्नु गिट्टी कुटेर आएको पैसाले महिनाको २ हजार रूपियाँ कोठा भाडा तिर्न र खान समेत पुग्दैन ।’

उनले थपे–‘कोठा भाडा तिर्न नसकेपछि घरधनीले निकालिदिए । गिट्टी समेत उधारोमा लिन्छन् । अहिलेसम्म पैसा दिएका छैनन् । बिहान बेलुकाको छाक टार्न धौधौ परेको छ ।’

नेपालमा शसस्त्र द्वन्द्वको अन्त्यसहित मुलकमा तीन तहको सरकार निर्माण भइसकेको अवस्थामा अहिले पनि सशस्त्र द्वन्द्वको बेला रोल्पाबाट विस्थापित भएका दमाई परिवार पुनर्स्थापित हुन सकेका छैनन् ।


रमेश केसी