आर्थिक अभावमा रोग पाल्दै शान्ति, सहायताको याचना !

  ०७७ मङ्सिर ७ गते

बडिमालिका नगरपालिका–९ की शान्ति चदाराले पैसा नहुँदा रोग पाल्न बाध्य भएको बताउनु भयो । चार वर्षदेखि पाठेघरमा समस्या भएकी शान्तिको अवस्था जटिल बन्दै आएको उहाँको आफ्नै अनुभव छ ।

जिल्ला अस्पताल बाजुराले उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाएको भएपनि आर्थिक अभावका कारण रोग पालेर घरैमा बसिएको शान्तिका पति करन चदाराले बताउनु भयो ।

‘चार वर्षदेखि सेतो पानि बगिरहेको थियो । जिल्ला अस्पताल बाजुरामा उपचार गरिन्थ्यो । अहिले पाठेघरको मुखमा घाउ भएकाले डाक्टरले यहाँ उपचार हुँदैन धनगढी जानु भनेका छन् ।’–शान्तिले भन्नु भयो–‘उपचार त टाढाको विषय हो । जाने पैसा समेत छैन । मरे पनि घरमै मर्ने हो ।’

शान्तिका अनुसार जिल्ला अस्पताल बाजुराले असोज २५ गते नै सेती प्रादेशिक अस्पतालमा रिफर गरेको थियो ।

जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले शान्तिको पाठेघरको मुखमा घाउ रहेको बताउनु भयो ।

‘पाठेघरको मुखमा घाउ छ । त्यो घाउ क्यान्सर हुने अवस्थाको हो वा सामान्य औषधि गरे ठिक हुने हो जाँच गरेपछि मात्रै थाहा हुन्छ ।’–डाक्टर विश्वकर्माले बताउनु भयो ।

समयमै उपचार नगरे पाठेघरको मुखमा क्यान्सर हुने सम्भावना रहेको पनि विश्वकर्माले बताउनु भयो । जिल्ला अस्पतालमा स्त्री रोग विशेषज्ञ पनि नभएकाले धनगढी रिफर गरेको विश्वकर्माले बताउनु भएको छ ।

सरकारले गरिब असाहयका लागि निःशुल्क उपचार गर्ने नारा अघि सारेको भएपनि शान्तिजस्ता गरिब नागरिकले समयमा यथोचित उपचार पाउन सकेका छैनन् ।

सरकारले निःशुल्क उपचार गरिदिए वा सहयोगदाताले सहयोग गरिदिए पुनर्जिवन पाउन सकिने भन्दै शान्तिले इन्सेक प्रतिनिधिमार्फत सहयोगको याचना गर्नु भएको छ ।


पदम सिंह