आर्थिक अभावमा नियमित विद्यालय जादैनन् बोटे समुदायका बालबालिका

  ०७६ माघ २९गते

बगनासकाली गाउँपालिका७ खानीगाउँ दैलातुङका बोटे बालबालिकाहरू आर्थिक अभावका कारण नियमित रुपमा विद्यालय जादैनन् ।

उक्त विद्यालयमा हाल ७५ जना विद्यार्थी रहेकोमा २३ जना बालबालिका बोटे समुदायका रहेका छन् । विद्यालय जाने उमेरका बालबालिका घर खेतमै दिन बिताउने गर्दछन् ।

अन्य समुदायका बालबालिकाको तुलनामा बोटे समुदायका बालबालिकाहरूलाई नियमित रुपमा विद्यालय ल्याउन कठिनाई भएको बिद्यालयका प्रधानाध्यापक केशवराज खरालले बताउनु भयो । उनीहरूकालागि दिवा खाजा बापत सरकारले दैनिक १५ रूपिँया उपलब्ध गराएको भए पनि दिवा खाजा कार्यक्रमले विद्यार्थीहरूलाई पूर्ण रुपमा विद्यालयप्रति आकर्षित गर्न नसकेको उहाँले बताउनु भयो । दिवाखाजाको रुपमा एकमुष्ट रकम प्रदान गर्दै आइएकोमा विद्यालयमै खाजा खुवाउने ब्यवस्था मिलाउन सक्ने हो भने विद्यार्थीहरूको विद्यालय आउने दर बढ्ने उहाँले बताउनु भयो ।

दिउँसोको समयमा बावु आमासँग गर्न वा अर्काको खेतबारीमा काम गर्न जाने र बालबालिकाहरु घरायसीकाम गरेर बस्ने गरेको स्थानीय गजवीर बोटेले बताउनु भयो । १० बर्ष अघिसम्म बावु आमासँगै गण्डकी किनार र मेलापातमा बोटे बालबालिकाहरूले समय बिताउने गरेकोमा अहिले आएर अलि अलि पढ्नुपर्छ भन्ने चेतना बढ्दै गए पनि बालबालिकाहरुलाई नियमित विद्यालय पठाउन समस्या रहेको उहाँले बताउनु भयो ।

जेनतेन कक्षा ८ सम्मको पढाई गाउँकै बिद्यालयमा पुरा गरे पनि माध्यमिक तहको शिक्षाकालागि करिब डेढ घण्टाको दुरी पार गरेर खानीगाउँ माध्यमिक विद्यालयमा पुग्नु पर्ने समस्या छ । विद्यालय टाढा भएकै कारण माध्यमिक शिक्षा लिने बोटे बालबालिकाहरुको संख्या ज्यादै न्यून रहेको छ ।

अहिलेसम्म उक्त गाउँबाट ५ जनाले मात्रै एसइइ उतीर्ण गरेका छन् । एसइइ पास गर्नेमा चार जना एउटै घरका रहेका छन् । एक जना ममता बोटे कक्षा १२ मा अध्ययनरत छन् । निजामति सेवा, शिक्षक सेवा लगायतका सरकारी निकायमा आवद्ध यहाँका बोटे समुदायबाट एक जना पनि छैनन् ।

                                                                                     


यज्ञमूर्ति तिमिल्सिना