आर्थिक अभावमा उपचार गर्न छाडेर ३० वर्षदेखि खोरमा

  ०७६ मङ्सिर ८ गते

  सिद्धलेक गाउँपालिका–२ का सिलाबहादुर नेपालीलाई उपचार गर्न छाडेर ३० वर्षदेखि खोरमा थुनेर राखेको पाइएको छ ।

मानसिक स्वास्थ्य समस्याका कारण घरबाट भाग्ने र लडेर मर्ने डरले सिलाबहादुरकी आमा सुकुमायाले खोरमा थुनेर राख्ने गरेको इन्सेक अनलाइनलाई बताउनुभयो ।

ससाना हातगोडा, दुब्लो शरीर, अनुहार सुकेर चेप्टो भएका र दाँतसमेत बाहिर निस्केका सिलाबहादुरलाई आर्थिक अभावमा उपचार खर्च नभएपछि घरमै खोरमा थुनेर राख्नु परेको सुकुमायाले बताउनुभयो ।

photo20191124dhading (1)

‘उपचार गराउन खर्च छैन । आफू पालिन समेत नपुग्ने थोरै पाखो बारी छ ।’–हरेक दिन खानाको लागि समस्या व्यहोर्दै आउनुभएकी सुकुमायाँले भन्नुभयो–‘१० वर्षअघि मलेखु लगेर स्वास्थ्य शिविरमा छोराको उपचार गराएँ । निरन्तर औषधि खुवाउनु पर्ने भएपछि खर्च अभावमा उपचार समेत गर्न सकिनँ ।’

अभावै अभावले गर्दा भूकम्प पीडितको घर निर्माण गरेको भएपनि ढोका हाल्न नसकेपछि टहरामै बस्न बाध्य भएको सुकुमायाको भनाइ छ ।

सरकारले जोखिम लाभग्राही भनेर एकल महिला र अपाङ्गता भएका व्यक्तिलाई पुनःनिर्माणका लागि थप ५० हजार रुपियाँ दिने भनेपनि सुकुमाया एकल र छोरामा अपाङ्गता भएको भएपनि जोखिमयुक्त लाभग्राही सूचीमा नाम नभएपछि यो सहुलियत समेत नपाएको उहाँले बताउनुभयो ।

photo20191124dhading (2)


सीताराम अधिकारी