आयोगसँग निष्पक्ष छानविनको माग गर्दै बेपत्ता नागरिकका परिवार

  ०७५ कात्तिक ९ गते

बेसीहशर नगरपालिका–८ स्थित एक कार्यक्रममा आयोगसँग वेपत्ता नागरिकका परिवारका सदस्यहरूले निष्पक्ष छानविनको साथै परिपूरणको माग गरेका छन् ।

वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले आयोजना गरेको वेपत्ता पीडित तथा सरोकारवालाहरूसँगको अन्तरक्रिया कार्यक्रममा वेपत्ता पारिएका व्यक्तिको परिवारका सदस्यले सो माग गरेका हुन् ।

अहिलेसम्म खाटो बसेको घाउलाइ कोट्याउने काम मात्र भएको र समस्या जस्ताको तस्तै रहेको बेसीशहर नपा–६ का सन्तबहादुर रिमालले बताए ।

वेपत्ता पारिएका व्यक्तिको परिवारकी सदस्य निर्मला अधिकारी पौडेलले ‘कि सास कि लास’ चाहिने माग गरिन् ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सत्यतथ्य छानविन गरी वास्तविक पीडितलाइ न्याय सहितको परिपूरण भराउनुपर्ने बताए । आयोगले आफूपनि जिम्मेवार बन्ने र सरकारलाई पनि जिम्मेवार बनाउन जोड दिनुपर्ने बताए ।

आयोगका सचिव कृष्णजिवी घिमिरले आयोगलाई कमाइ खाने भाँडो बनाउने लोाभीपापीहरूका कारण आयोगले कामको गति लिन नसकेको बताए ।

आफ्नो कार्यकालमा समितिका पदाधिकारीहरू सकारात्मक भइदिए भने एक देखि डेढ वर्षमा काम सक्ने प्रतिबद्धता समेत व्यक्त गरे ।


दलबहादुर मजाकोटी