आयोगमा दर्ता भएका उजुरी सम्बन्धमा अनुसन्धान सुरु

  ०७३ माघ २८ गते

सशस्त्र द्वन्द्वका क्रममा भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटना सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगमा दर्ता भएका उजुरीका सम्बन्धमा आयोग क्षेत्रीय कार्यालय नेपालगन्जले अनुसन्धान सुरु गरेको जनाएको छ ।

आयोगको मानव अधिकार अनुगमन टोलीले माघ २८ गते डोल्पा जिल्लामा पुगेर अनुसन्धान सुरु गरेको जनाएको हो । आयोगका मानव अधिकार अधिकृत टङ्कप्रसाद खनालको नेतृत्वमा आएको टोलीले जिल्लाको मानव अधिकार अवस्थाका सम्बन्धमासमेत अनुगमन गरेको छ ।

आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय, महिला तथा बालबालिका कार्यालय, खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, जिल्ला कारागार लगायतका निकायको अनुगमन गरी उक्त कार्यालयबाट प्रवाह हुने सेवा, सेवाग्राहीका समस्या, जिल्लाको मानव अधिकार अवस्थाका बारेमा जानकारी लिएको छ ।

अनुगमनका क्रममा सरकारी निकायका प्रमुख, मानव अधिकारको क्षेत्रमा कार्यरत इन्सेक जिल्ला प्रतिनिधि, नागरिक सामजका प्रतिनिधिहरुसँग मानव अधिकार अवस्थाका सम्बन्धमा जानकारी लिएको आयोगका अधिकृत टङ्क खनालले जानकारी दिए ।

कुराकानीमा मानव अधिकारमैत्री वातावरणमा छिटो छरितो र सबैको पहुँच पुग्ने गरी सेवा प्रवाह गर्न आयोगको टोलीले अनुरोध गरेको थियो । सरकारी निकायले मानव अधिकारको मूल्य, मान्यता र सिद्धान्त अनुरुप र्सवसाधारणलाई आफ्ना सेवाहरु चुस्तदुरुस्त रुपमा प्रवाह गर्न गराउन प्रतिवद्धता व्यक्त गरेको मानव अधिकार अधिकृत खनालले जानकारी दिए ।


विष्णु देवकोटा