आयोगका अध्यक्ष मैनालीको पुतला दहन

  ०७६ असार २ गते

सप्तरीको राजविराजमा अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, नेविसङ्घ, राष्ट्रिय विद्यार्थी सङ्घ, समाजवादी विद्यार्थी फोरमले जेठ ३२ गते लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको पुतला दहन गरेका छन् ।

लोकसेवा आयोगले हालै आह्वान गरेको कर्मचारी भर्ना विभेदकारी एवम् व्यापक त्रुटीपूर्ण रहेको भन्दै विद्यार्थी सङ्गठनहरूले आयोगका अध्यक्ष मैनालीको पुतला दहन गरेका हुन् ।

आयोगका अध्यक्ष मैनालीले राजीनामा दिनुपर्ने, विज्ञापन रद्द गरी समावेशी सिद्धान्तको आधारमा विज्ञापन आह्वान गर्नुपर्ने, प्रादेशिक लोकसेवा आयोग गठन गर्नुपर्ने माग गर्दै उनीहरूले आन्दोलन घोषणा गरेका छन् ।

स्थानीय तहको विज्ञापन विभेदकारी रहेको भन्दै चरणबद्ध आन्दोलन घोषणा गरेको समानुपातिक समावेशी अधिकार बचाउ सङ्घर्ष समिति सप्तरीले असार १ गते राजविराजमा मशाल जुलुस प्रदर्शन पश्चात कोणसभा र असार २ गते पूर्व–पश्चिम राजमार्ग अवरूद्ध गर्ने कार्यक्रम राखेको छ ।

आयोगले सङ्घीयता, समावेशी तथा समानुपातिक सिद्धान्त विपरित निकालेको विज्ञापन नसच्याएसम्म आन्दोलन जारी रहने विद्यार्थी नेता रामचन्द्र यादवले चेतावनी दिए । सङ्घर्ष समितिले जेठ ३० गते आँखामा कालोपट्टी बाँधेर साङ्केतिक विरोध जनाएको थियो ।


मनोहरकुमार पोखरेल