आयुर्वेद औषधालय चिकित्सकविहिन हुँदा सेवाग्राही समस्यामा

  ०७६ चैत १४ गते

मालिकार्जुन गाउँपालिका– ७ जौलजीविस्थित उकु आयुर्वेद औषधालय एक महिनादेखि चिकित्सकविहिन हुँदा सेवाग्राहीहरु समस्यामा परेका छन् ।

एक जना मात्रै चिकित्सक रहेको औषधालयका कविराज सुभासचन्द्र झा घर हिडेपछि चिकित्सकविहिन बनेको हो ।

चिकित्सक नै नभएपछि यहाँका स्थानीयलाई चेकजाँच गर्न र औषधी लिनै समस्या भएको छ ।

गाउँघरमा स्थानीयलाई आयुर्वेदिक स्वास्थ्य सेवा दिन खोलिएको आयुर्वेदिक औषधालयमा अहिले कार्यालय सहयोगीले कार्यालय खोल्ने मात्रै काम गरेको स्थानीयले गुनासो गरेका छन् । आयुर्वेद औषधालयमा एक जना मात्रै कविराजको दरबन्दी हो । भने, दुई जना कार्यालय सहयोगी छन् ।

चिकित्सकविहिन रहेको जिल्ला आयुर्वेद स्वास्थ्ये केन्द्रमा कार्यालय सहयोगीको रुपमा हरिश चन्द र विक्रम लोहार रहेकोमा एक जनालाई अहिले हेल्थ डेस्कको समेत जिम्मेवारी दिइएकोले स्थानीयहरु रित्तो हात फर्किने गरेको मालिका अर्जुन गाउँपालिका –७ का वडा अध्यक्ष लोकेन्द्रसिह धामीले बताउनु भयो ।

‘अहिलेको अवस्थामा आयुर्वेद औषधालयमा स्वास्थ्यकर्मी नहुँदा नागरिकले सेवा पाउन सकिरहेका छैनन’्, उहाँले भन्नुभयो, ‘कार्यालय सहयोगीलाई औषधीको बारेमा जानकारी हुँदैन् ।’

कार्यालय प्रमुख झा भने गाडी बन्द भएको कारण अहिले आउन समस्या भएको भन्दै आफूलाई फोनमार्फत जानकारी गराएको वडा अध्यक्ष धामीको भनाइ छ । महिनामा कमै हाजिर हुने गरेका झा कार्यालय छोड्न नहुने समयमा घरविदामा हिडेका छन् ।

आयुर्वेद औषधालयमा एक जना बैद्यको रुपमा दिवाकर जोशी नयाँ आएपनि उहाँलाई गाउँपालिकामा राखिएको छ । अहिले आयुर्वेद औषधालयमा स्वास्थ्यकर्मी नहुँदा कार्यालय सहयोगीले बिहान १० बजे कार्यालय खोलेर दिउँसो ३ बजे कार्यालय बन्द गर्ने गरेको स्थानीय दानीराम तिरुवाले बताउनु भयो ।

‘औषधी लिन जाँदा पाइदैन् ।’ उहाँले भन्नु भयो ।

भारतसँग सीमा जोडिएका जौलजीवि झोलुंग पूल नजिकै रहेको आयुर्वेद औषधालयमा स्वास्थ्यकर्मी नहुँदा स्थानीयले औषधीको लागि भारतीय बजार धाउनु पर्ने बाध्यता रहेको छ भने केहिले उकु स्वास्थ्य चौकी पुग्नु पर्ने बाध्यता छ ।

दिवाकर जोशी भने आफू गाउँपालिकामा कार्यरत रहेको कारण औषधालयको बारेमा जानकारी नभएको बताउनु भयो । उहाँले भन्नु भयो– ‘कविराज झालाई पटक पटक फोन सम्पर्क गर्दा उहाँसँग सम्पर्क हुन सक्दैन् ।’

मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले झालाई कार्यालय छोडनुको कारण प्रष्ट पार्न माग गरिएकोमा उहाँले विदा स्वीकृत गराएर गएको बुझिन आएको बताउनु भयो ।

उहाँले भन्नु भयो –‘अहिले नेपाल लकडाउन भएका कारण कविराज झा आउन त सक्दैनन् । तर, हामी औषधालय सञ्चालन गर्न सक्ने जनशक्ति परिचालन गछौँ ।’ हामीसँग जनशक्ति छ । ‘कोराना भाइरस रोकथामको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्नु पर्ने भएको कारण केहि समस्या भएको हो । कर्मचारी खटाउँछु ।’

 


नरेन्द्रसिह कार्की