आमा सुरक्षा कार्यक्रम अन्तर्गत रकम नपाएको गुनासो

  ०७६ चैत ६ गते

गोसाँइकुण्ड गाउँपालिकामा रहेको बर्थिङ सेन्टरहरूमा सुत्केरी गराउनेहरूले आमा सुरक्षा कार्यक्रम अन्तर्गत सरकारले प्रदान गर्ने प्रोत्साहन रकम नपाएको गुनासो गरेका छन् ।

सरकारले मातृशिशु मृत्युदर न्युन गर्नका लागि तालिम प्राप्त स्वास्थ्यकर्मीबाट तोकिएको समयमा गर्भजाँच गराउने र स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई प्रोत्साहन तथा बाटो खर्च स्वरुप आमा सुरक्षा कार्यक्रम अन्तरगतको पाउनु पर्ने रकम नपाएका हुन् । तोकिएको अनुसार सबै प्रक्रिया पुर्‍याउँदा पनि आफूले पाउनु पर्ने प्रोत्साहन रकम नपाएको आमाछोदिङ्मो गाउँपालिका–१ की उर्चि तामाङले बताउनु भयो ।

गोसाइकुण्ड गाउँपालिकामा टिमुरे, स्याफ्रु र थुमनमा बर्थिङ सेन्टर रहेका छन् । त्यहाँबाट साउन महिना यता ३७ जनाले सुत्केरी गराए पनि समयमा आमा सुरक्षा कार्यक्रमबाट पाउनु पर्ने रकम नभएको टिमुरे स्वास्थ्य चौकी प्रमुख गणेश मिश्रले बताउनु भयो ।

कार्यक्रमबाट ३ हजार ८ सय रुपियाँ प्रदान गर्ने नीति रहेको छ । सो रकम सुत्केरी संस्थाबाट घर फर्कने समयमा दिनु पर्ने तर आठ महिना बित्दा पनि उपलब्ध गराउन नसकेको टिमुरे स्वास्थ्य चौकी प्रमुख मिश्रले बताउनु भयो । बर्थिङ सेन्टरमा सुत्केरी गराउनेले पनि सरकारले दिने ३ हजार ८ सय र गाउँपालिकाले दिने भनेको थप १ हजार रुपियाँ रकम नपाएको उहाँले बताउनु भयो ।

सङ्घीयतापछि कर्मचारी समायोजनमा रोजेर आफ्नो क्षेत्रमा जान पाउने भएपछि दुर्गम र बिकट ठाउँमा रोज्ने कमै हुने र लोकसेवा आयोगले पठाउन नसेपछि कर्मचारी अभाव रहेकोले स्वास्थ्य सेवा प्रवाहका समस्या छ । जसले गर्दा गाउँमा चलिरहेका सुरक्षित सुत्केरी गराउन खुलेका बर्थिङ सेन्टरमा समस्या परेको छ ।

आमा सुरक्षा कार्यक्रम अन्तर्गतको रकम निकासा गर्न ढिला भएकोले समस्या भएको गोसाइकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बिमल घिमिरेले बताउनु भयो । ‘अब केही दिनपछि नै वितरण सुरु गर्ने प्रक्रियामा छौं’ उहाँले भन्नुभयो ।


हेमनाथ खतिवडा