आमा र हजुरआमाको हत्या गरेको कसुरमा जन्मकैदको फैसला

  ०७६ असार २४ गते

कोदालो प्रहार गरी आमा र हजुरआमाको हत्या गरेको कसुरमा नारायण नपा–३ भूतीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले असार २३ गते जन्मकैदको फैसला गरेको छ ।

सार्कीले ०७५ पुस २ गते ४७ वर्षीया आमा पार्वती सार्की र ७० वर्षीया हजुरआमा जुवारा सार्कीलाई कोदालो प्रहार गरी हत्या गरेका थिए ।

बालारामको आक्रमणमा परी घाइते भएकी २४ वर्षीया छिमेकी कौशिला नेपालीको समेत ज्यान मार्न खोजेको भन्ने कसुरमा अदालतले थप दुई वर्ष कैद र २० हजार रुपियाँ जरिवानाको सजाय तोकेको जिल्ला अदालतले जनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश सनतचन्द्र लवटको इजलासले सो फैसला गरेको सूचना अधिकारी विनोद आचार्यले जानकारी दिए ।

मुुलुकी अपराध संहिता २०७४ को दफा ४१ (क) तथा दफा १७७ (१)को कसूरमा दफा १७७ (२) तथा सोही संहिताको दफा ४१ बमोजिम जन्मकैद र ज्यानमार्ने उद्योगतर्फ सोही संहिताको दफा १८३ (१)को कसुरमा सोही दफा १८३ (२) दुई वर्ष कैद र २० हजार रुपियाँ जरिवानाको सजाय भएको आचार्यले बताए ।

घरायसी विवादमा रुखमा गएर नाम्लोले पासो लगाउन खोजेका बालारामलाई त्यसो नगर्नु भनी सम्झाउँदा आक्रमण गरी आमा पार्वतीको हत्या गरी त्यसपछि करिब ४ सय मिटर टाढा आफ्नै घरमा हजुरआमा जुवारालाई घाइते बनाएका थिए ।

बालारामको पासो खोल्न जाँदा आफैँमाथि आक्रमण गर्न खोजेका छोराबाट जोगिन भागेर घर नजिकैको सोयखोला भन्ने खोल्सामा पुगेको बेला आमा पार्वतीकोे टाउकोमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

आमाको प्राण गइसकेपछि आफ्नो घरमा माथिल्लो तलामा काम गर्दै गरेकी हजुरआमा जुवारालाई पनि प्रहार गर्न खोजेपछि दौड्दै तल्लो तलामा पुगेको बेला त्यही कोदालोले हिर्काएर घाइते बनाएकोमा उपचारका क्रममा जिल्ला अस्पताल, दैलेखमा ज्यान गएको थियो ।

घटनाका बारेमा स्थानीयले दिएको सूचनाको आधारमा तत्काल घटनास्थल पुगेको प्रहरीले बालारामलाई गिरफ्तार गरेको थियो ।

बालारामले आफँैले ब्लेटले घाँटीको केही भाग रेटेर घाइते भएकोमा दुई महिना अस्पतालमा राखी उपचार गरिएको थियो । शवको पोष्टमार्टम पुस ३ गते जिल्ला अस्पताल दैलेखमा उपचार भएको थियो ।


अमर सुनार