आमाको हत्या गरेको आरोपमा छोरीसहित चार जना गिरफ्तार

  ०७६ असार १७ गते

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-५ घर भई चाँगुनारायण नगरपालिका-७ खरिपाटी बस्दै आएकी ६० वर्षीया सावित्री भट्टराईको हत्या गरेको आरोपमा प्रहरीले २७ वर्षीया छोरी गीता भन्ने इश्वरी भट्टराईसहित असार १६ गते चार जनालाई गिरफ्तार गरेको छ ।

इश्वरीले १२ लाख रुपियाँ खर्च गरेर तीन जना पुरुषको प्रयोग गरी असार १५ गते आमाको हत्या गराएको अनुसन्धानको क्रममा खुलेको महानगरीय प्रहरी परिस भक्तपुरका एसपी सविन प्रधानले बताए ।

घटनाबारे जानकारी दिँदै उनले इश्वरीले सिरहाको कल्याणपुर नगरपालिका-४ घर भई हाल भक्तपुरको पुरानो ठिमीमा बस्दै आएका २३ वर्षीय मोहम्मद नौसाद, भारतको पूर्वी दिल्लीस्थित दुभौली पञ्चायतको नयाँ अशोकनगरका २४ वर्षीय अर्जुन कुमार भनिने भोला कुमार र भारतकै मधुवनी जिल्ला रजौरी थानाका २४ वर्षीय मोहम्मद रहिशलाई हत्या गर्न लगाएको बताए ।

महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको टोली, महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले अपराधिको खोजी गर्ने क्रममा धादिङ्गको गजुरीबाट मुख्य योजनाकार मोहम्मद नौसाद र मकवानपुरबाट भारतीय नागरिक अर्जुनकुमार भन्ने भोलाकुमार र मोहम्मद रहिसलाई गिरफ्तार गरेको एसपी प्रधानले जानकारी दिए ।

शवको पोष्टमार्टम असार १६ गते त्रिविवि शिक्षण अस्पताल काठमाडौँमा भएको प्रहरीले जनाएको छ ।


सविना केसी