आमरण अनसनकारीको अवस्था बुझन आयोगको टोली सप्तरीमा

  ०७३ मङ्सिर १० गते

राजविराज नपा-३ स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सुधारको माग गर्दै आमरण अनसन बसेका मधेसी मोर्चाका नेता तथा कार्यकर्ताहरूको अवस्था बुझन राष्ट्रिय मानव अधिकार आयोगको टोलीले मङ्सिर १० गते अनुगमन गरेको छ ।

आयोगका क्षेत्रीय कार्यालय जनकपुरकी मानव अधिकार अधिकृत रेवा रेग्मीसहितको टोलीले अस्पताल परिसरमा पुगी अनसनकारीहरूको स्वास्थ्य, सुरक्षाको अवस्थाका साथै मागहरूको बारे जानकारी लिएको छ ।

photo20161125saptari

टोलीले अस्पतालको निरीक्षण गर्नुका साथै अनसनकारीहरू, बिरामीहरू, कर्मचारीहरू र निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलिपकुमार साहसँग भेटघाट गरी अस्पतालको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सुझावहरू दिएको जनाएको छ ।

अस्पताल सुधारको माग गर्दै मङ्सिर ८ गतेदेखि आमरण अनसन बसेका नेपाल सद्भावना पार्टी गजेन्द्रवादीका राष्ट्रिय अध्यक्ष विकास तिवारीलाई साथ दिँदै थप चार जना मङ्सिर ९ गते बिहानदेखि आमरण अनसनमा बसेका थिए ।

आमरण अनसनमा मधेसी मोर्चा सप्तरीका संयोजक एवम् सरिता गिरी नेतृत्वको नेसपाका जिल्ला अध्यक्ष सुबी यादव, मोर्चाका सचिवालय सदस्य एवम् नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रभाकर सिंह, नेसपा गजेन्द्रवादीका केन्द्रीय सदस्यहरू एवम् मोर्चाका सचिवालय सदस्यहरू जयसुन्दर खिडहरी यादव र सावित्री पण्डित बसेका छन् ।

अस्पतालको अव्यवस्था, असुविधाको विरोध जनाउँदै मधेसी मोर्चा सप्तरीले अस्पतालमा विभिन्न सुधारको माग गर्दै कात्तिक १२ गते अल्टिमेटमसहितको २४ बुँदे ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा निशुल्क वितरण हुने औषधिहरूको सूची, चिकित्सक, कर्मचारीको दैनिक समय तालिका र्सार्वजनिक रूपमा टाँस्नुपर्ने, प्राप्त बजेट र खर्च विवरण उपलब्ध गराउनु पर्ने, बिरामीहरूलाई पोषिलो र स्वच्छ पिउने पानीको व्यवस्था हुनुपर्ने, शौचालय र धाराहरू चालु हुनुपर्ने लगायतको माग उल्लेखित रहेको छ ।


मनोहरकुमार पोखरेल