आफ्नो नाममा जग्गा नहुँदा माझीबस्तीका २५ घर परिवारले भूकम्पपीडित राहत पाएनन्

  ०७५ असार ११ गते

मेलम्ची नपा-१० शिखरपुर स्थित सञ्जेलटारमा बसोसावस गर्ने माझीबस्तीका २५ घरपरिवारले आफ्नो नाममा जग्गा नहुँदा भूकम्पपीडितले पाउनुपर्ने राहत पाउन सकेका छैनन् ।

तीन पुस्ता अघिदेखि इन्द्रावती गाउँपालिका-४ का राजेन्द्रमान ताल्चाभडेललगायत ६ जनाको १ सय ५० रोपनी जग्गा कमाई गरी घर बनाएर बसोवास गर्दै आएका पहले माझी, जितराम माझी, जुठे माझी, मङ्गले माझी, जितबहादुर माझी, टहले माझी र भिमबहादुर माझीबाट छुट्टिएका अन्य सन्तानहरू गरी २५ घर परिवारले आफ्नो नाममा जग्गा नहुँदा राहत पाउनबाट बञ्चित भएका हुन् ।

Photo20180625Sindhupalchok

"भूकम्पपडित राहतको लागी विभिन्न ठाउँमा अनुरोध गरियो तर पनि राहत पाइएन, वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छौँ ।"-जुठे माझीले भने ।

माझीहरूको नाममा जग्गा नहुँदा भूकम्पपीडित लाभन्वित सूचीमा नाम भएको तर सम्झौता गर्न कानुनी समस्या परेकोले पहिलो किस्ता समेत वितरण गर्न नपाएको सोही वडाका वडाअध्यक्ष भक्तराम खड्काले बताए ।

'पीडित मझीहरूको नाममा जग्गाको हकभोग ल्याउन विभिन्न चरणमा जग्गा धनी र मोहीबिच छलफल पनि भयो तर जग्गा कति कट्टा गरी दिने लिने भन्ने कुरा मिलेको छैन ।'-खड्काले भने ।

जग्गा नभएर भूकम्पपीडितको राहत नपाएपछि माझी बस्तीका सबैले घर पुनर्निर्माण गर्न पाएका छैनन् । उनीहरू हालसम्म टहरामुनी नै बसोवास गर्दै आएका छन् ।


नातिबावु धिताल