'आफ्नो घर आफै बनाउँदै' भूकम्पपीडित

  ०७३ साउन २७ गते

भुकम्प गएको १५ महिनासम्म सरकारको अनुदान कुरेर बसेका यहाँका भुकम्पपीडितले अन्ततः आफ्नै पुँजीले घर बनाउन थालेका छन् ।

सरकारले भुकम्पपीडितलाई पुनःस्थापनाका लागि घर बनाउन अनुदान रकम दिने भने पनि झण्डै डेढ वर्षसम्म नपाएपछि उनीहरूले आफ्नो क्षमताअनुसारका घर बनाउन थालेका हुन् । सरकारले घर बनाउने पैसा दिने भने पनि नदिएर धोका दिएकाले 'आफ्नो घर आफै बनाउन' थालेको यहाँका भुकम्पपीडितले बताएका छन् ।

'अनुदान पाइएला र घर बनाउँला भन्ने आशमा यतिका दिनसम्म कुर्‍यौँ । कुर्दाकुर्दै १५ महिना बित्यो ।'-भोजपुर नपाका भुकम्पपीडित दुर्गाबहादुर कार्कीले भने-'तर केही पाइएन । अहिले आफ्नो घर आफै बनाइरहेका छौं ।'

सुरुमा सरकारबाट २० हजार रुपियाँ राहत पाएका कार्कीले त्यसपछि केही नपाएको गुनासो पोखे । लामो समयसम्म सरकारले अनुदान देला र नयाँ घर बनाउला भनेर बसेका उनले अन्ततः सरकारले वास्ता नगरेपछि आफ्नो घर आफै बनाउन लागिपरेको बताए ।

सङ्कटका बेला ओत लाग्ने घर बनाउन वर्षौंसम्म सरकारको मुख ताकेर बस्नु ठिक नहुने ठानेर उनले घर बनाउन अघि सरेको बताए । 'मैले मेरो घर म आफैले बनाएँ । यसमा म अत्यन्तै खुसी छु ।'-कार्कीले भने-'सकेसम्म सबैले स्थानीय स्रोत साधन प्रयोग गरेर बनाउँदा राम्रो ।'


किरण राई