आप्रवासी कामदारका हकसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी सुरू

  ०७६ साउन ५ गते

राष्ट्रिय मानव अधिकार आयोगले आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षण विषयक अन्तर्राष्ट्रिय सम्मेलनको तयारी सुरू गरिएको छ ।

०७६ साउन ५ गते आयोगले ललितपुरस्थित आयोगको कार्यालयमा पत्रकार सम्मेलन गरी आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणका लागि यही कात्तिक २६ देखि २८ गतेसम्म काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन गरिन लागको जानकारी दिएको हो ।

सम्मेलनमा ३० देशका २४ राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, सदस्य अन्तर्राष्ट्रिय विज्ञहरू र सरकारका प्रतिनिधिलगायत ९० जना प्रतिनिधिको सहभागिता रहने आयेगका अध्यक्ष अनूपराज शर्माले जानकारी दिए । अध्यक्ष शर्माले आयोग नभएको देशबाट सरकारका प्रतिनिधिको सहभागिता रहने बताए ।

उनका अनुसार राष्ट्रिय स्तरबाट नेपाल सरकारका प्रतिनिधि, आप्रवासी कामदारका क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधि, आयोगका पदाधिकारीसहित ३५ जनाको सहभागिता रहने जनाए ।

सम्मेलनको सत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट कार्यपत्र प्रस्तुत गरिने र त्यसमाथि गहन छलफल आयोगले जनाएको छ । आप्रवासी कामदारहरूको मानव अधिकार संरक्षणका विषयमा तीन दिनको गहन छलफल, टिप्पणी र सबै सरोकारवालाबाट यस विषयमा गरिने प्रतिबद्धता, चुनौती र समस्या समाधानको उपायहरू समेत संलग्न गरी काठमाडौँ घोषणापत्र जारी गरिने बताइएको छ ।

जारी घोषणापत्रलाई कार्यान्वयनको लागि कार्ययोजना पनि निर्माण गर्ने योजना छ । उक्त कार्ययोजना पास हुने आयोगको अपेक्षा रहेको बताइएको छ ।

आयोगका अध्यक्ष शर्माले सम्मेलन नेपालका लागि प्रतिष्ठाको विषय भएको बताए । उनले भने–‘यो राष्ट्रिय गौरवको विषय हो । यसले नेपालाई उचाइमा पुर्‍याउँछ । सम्मेलन सन्देशमुलक हुनेछ ।’

सम्मेलनको तयारीको लागि आयोगका सदस्य सुदिप पाठकको संयोजकत्वमा एक समिति गठन गरी जिम्मेवारी दिइएको अध्यक्ष शर्माले बताए ।

साथै आयोगका वरिष्ठ अधिकृत, विषय विज्ञ र कर्मचारीहरू सम्मिलित अन्य समितिहरूमार्फत कार्यहरू सुरू भइसकेको आयोगले जनाएको छ ।

सम्मेलनमा अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गर्न पत्राचार समेत सुरू भइसकेको संयोजक पाठकले बताए ।

केही दिनअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र श्रममन्त्री गोकर्ण विष्टसँगको छलफलमा सम्मेलनका विषयमा सहमति भएको अध्यक्ष शर्माको भनाइ छ ।

आयोगले यसअघि सन् २०१२ को नोभेम्बर २६ र २७ मा समेत आप्रवासी कामदारको अधिकारसम्बन्धी काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलन गरेको थियो ।


दीपकप्रसाद घिमिरे