आन्दोलनरत ११ जना नर्स गिरफ्तार, अस्पतालका सबै सेवा ठप्प

  ०७५ जेठ ३ गते

गत वैशाख ११ गतेदेखि भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आन्दोलनरत ११ जना नर्सलाई प्रहरीले जेठ ३ गते अस्पताल परिसरबाटै गिरफ्तार गरेको छ ।

गिरफ्तार गरिएका ११ जना नर्सहरू शान्ति कुमाल, अनु शाही, शर्मिला लामा, मिना गर्बुजा, रविता सुवाल, सजिना मानन्धर, मुना श्रेष्ठलाई प्रहरी वृत्त जगातीको हिरासतमा र सविता श्रेष्ठ, सङ्गीता मङ्ग्राती, सजना  देउला र त्रजीना जतीलाई प्रहरी वृत्त थिमीको हिरासतमा राखिएको छ ।

आन्दोलनरत नर्समध्ये केन्द्रमा कार्यरत स्टाफ नर्स डिक्की शेर्पा र पोखराकी नर्स जिता बराल विगत ८ दिनदेखि आमरण अनशनमा बस्दै आएका छन् ।

अनशनमा बसेका नर्सहरूको स्वास्थ्य अवस्था निकै नाजुक बन्दै जाँदा पनि सम्बन्धित पक्षले माग सम्बोधन गर्ने चासो नदिएपछि नर्सहरूले अस्पतालमै धर्ना दिने कार्यक्रम सुरू गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

आफ्ना मागहरू राख्दै आन्दोलनमा उत्रिएका नर्सहरूलाई अस्पताल प्रशासनले गिरफ्तार गर्न लगाई तेश्रो पटक हिरासतमा पु¥याएको नर्स त्रजीना जतीले बताइन् ।

अनशनमा बसेका दुई जना नर्सहरूको अवस्था गम्भीर बन्दै आएका कारण अनशनमा बसेकाहरूको जीवन रक्षाको माग गर्दै आफ्ना थप मागहरू राख्दै शान्तिपूर्ण धर्नामा बसेको बेलामा अस्पताल प्रशासनले प्रहरी लगाएर आन्दोलनरत नर्सहरूलाई लछारपछार पार्दै अमानवीय तरिकाले भ्यानमा हालेर हिरासतमा राखेको जतीले बताइन् ।

केन्द्रमा स्थापना कालदेखि कार्यरत नर्स तथा कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुपर्ने, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, नर्सहरूलाई जोखिम भत्ताको व्यवस्था गर्नुपर्ने, लामो समयदेखि काम गर्दै आएका अनुभवी नर्सहरूलाई प्रोत्साहन गर्नुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने सम्मेलनमा कार्यरत कर्मचारीलाई अवसर दिनुपर्ने लगायतका माग राख्दै नर्सहरू आन्दोलनमा उत्रिएका हुन् ।

आफ्ना माग विपरीत स्थायी पदपुर्तिका लागि लोकसेवा आयोगले खुल्ला प्रतिस्पर्धामा दरखास्त आह्वान गरी केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ र पहुँचवालाका व्यक्तिहरूलाई स्थायी गर्ने र स्थापनाकालदेखि कार्यरत नर्सहरूलाई निष्काशन गर्ने षडयन्त्र गरेको आन्दोलनरत नर्सहरुको आरोप छ ।

अस्पताल प्रशासनले भने नर्सहरूको आन्दोलनले तनाव ग्रस्त भएको अस्पतालमा आजदेखि सबै सेवाहरू ठप्प भएको जनाएको छ ।

आन्दोलनका कारण डायलोसिस लगायतका अधिकांश सेवाहरू ठप्प हुँदा बिरामी मर्कामा परेको अस्पताल प्रशासनले जनाएको छ ।


सविना केसी