आन्दोलनकारीद्वारा दुई ओटा सरकारी कार्यालयमा आगजनी
सरकारले प्रदेश नम्बर १ को राजधानी विराटनगर तोकेको विरोधमा उत्रिएका धनकुटाबासीले माघ ४ गते दुई ओटा सरकारी कार्यालयमा आगजनी गरेका छन् भने तीन ओटा कार्यालयमा तोडफोड गरेका छन् ।
प्रदेश नम्बर १ को अस्थायी राजधानी धनकुटालाई तोक्नु पर्ने माग राख्दै ३४ दिनदेखि आन्दोलनमा उत्रिएका धनकुटाबासीले देउवा सरकारले बुधवार विराटनगरलाई अस्थायी राजधानी तोकेपछि उनीहरू हिंसात्मक आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनकारीले क्षेत्रीय प्रशासन कार्यालय धनकुटा र शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनकुटामा आगजनी गरेका छन् ।
आगजनीबाट क्षेत्रीय प्रशासन कार्यालयको दुई थान कम्प्यूटर, एक थान प्रिन्टर र हेलो सरकारको इन्टरनेटको तार जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए ।
त्यस्तै आन्दोलनकारीले डिभिजन कार्यालय धनकुटाको को १ ब १०६४ नम्बरको मोटरसाइकल जलाएका छन् । आन्दोलनकारीले डिभिजन कार्यालय, क्षेत्रीय प्रशासन कार्यालय, उच्च अदालत विराटनगर धनकुटा इजलासको कार्यालय, मालपोत कार्यालय र नापी शाखा कार्यालयका झ्यालका सिसा फुटाएर नष्ट पारेको पनि प्रजिअ उप्रेतीले बताए । आगजनीबाट क्षेत्रीय प्रशासन कार्यालयमा मात्रै १० लाख भन्दा बढीको क्षति भएको छ ।
धनकुटा बजारको विभिन्न स्थानमा आन्दोलनकारी र प्रहरीबिच दिनभर झडप भएको छ । धनकुटाको भीमनारायण चोकमा झडप हुदाँ प्रहरीले तीन राउण्ड अश्रृग्यास प्रहार गरेको छ ।
सो क्रममा प्रहरीको लाठी प्रहारबाट नेपाली काङ्ग्रेसका जिल्ला कोषाध्यक्ष ३८ वर्षीय दिनेश राईको टाउको फुटेको छ । उनको उपचार जिल्ला अस्पताल धनकुटामा भइरहेको छ । उनको टाउकोमा ११ ओटा टाँका लगाइएको छ ।
त्यस्तै प्रदेश नम्बर १ को राजधानी धनकुटा बनाउ आन्दोलन परिचालन समितिका संयोजक ४८ वर्षीय सुन्दरबाबु श्रेष्ठ पनि सामान्य घाइते भएका छन् । उनको उपचार पनि जिल्ला अस्पतालमा भयो ।
आन्दोलनकारीले धनकुटा नगरपालिका छेउमा धरानबाट भोजपुरतर्फ बिरामी लिन जाँदै गरेको को २ च ४३२ नम्बरको एम्बुलेन्स र जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुदिप राजभण्डारी चढेको ना १ झ १३१४ नम्बरको गाडी तोडफोड गरेका छन् ।
सयौँको सङ्ख्यामा विरोधमा उत्रिएका धनकुटाबासीले धनकुटाको सरस्वतीचोकमा को २९ प ३७५४, को ३२ प ४४०० र यलम्बरचोकमा को १८ प ७३९३ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् । आन्दोलनकारीले धनकुटाको सल्लेरीदेखि जिरोप्वाइन्टसम्म सडकमा ढुङ्गामुडा तेर्स्याएर अबरूद्ध गरेका छन् ।
स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी
आन्दोलनले हिंसात्मक रूप लिन थालेपछि स्थानीय प्रशासनले माघ ४ गते दिउँसो ११:४५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
आन्दोलनले उग्र रूप लिएपछि त्यसलाई नियन्त्रण गर्नको लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले बताए ।
धनकुटा बजारको उत्तरमा देब्रेबास, दक्षिणमा आत्मारा ढाँट, पूर्वमा बिहिबार हटिया र पश्चिममा आँखा अस्पताललगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञा जारी गर्नु पूर्व प्रहरीले माइकिङ गरेर र्सवसाधारण नागरिकलाई हिँडडुल नगर्न आग्रह गरेको थियो ।
सन्तोष रूचाल
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा २ महिना कैद सजायको फैसला
१९ वर्षीया युवतीलाई यौन दुर्व्यवहार गरेको कसुरमा सल्यानको बनगाड कुपिण्डे नगरपालिका –२ का २८ वर्षीय गोपाल सुनारलाई जिल्ला अदालत सल्यानले दुइ महिना कैद तथा १० हजार क्षतिपुर्तिको फैसला गरेको छ…
हत्या घटनाका आरोपित गिरफ्तार पछि प्रहरीद्वारा सार्बजनिक
रेसुङ्गा नगरपालिका– ३ की २१ वर्षीया सम्झना बोहराको हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँका ४७ वर्षीय लालबहादुर खत्रीलाई फागुन १७ गते गिरफ्तार गरी प्रारम्भिक अनुसन्धानबाट हत्यामा सङ्लग्न रहेको पाइएपछि प्रहरीले…
सामुहिक बलात्कार घटनाका एक जना आरोपित गिरफ्तार
३२ वर्षीया महिलालाई सामुहिक बलात्कार गरी फरार रहेका जुगल गाउँपालिका–४ का २० वर्षीय दिलिप सापकोटालाई ०७७ फागुण १९ गते चौतारा बजारबाट गिरफ्तार गरेकोे जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनुभयो…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
हेटौँडा उपमहानगरपालिका–१५ स्थित रिद्धीसिद्धी सिमेन्ट उद्योगका महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फागुन १७ गते उद्योगका महाप्रबन्धक तथा पूर्व एसएसपी ५८ वर्षीय लोकेन्द्रबहादुर मल्ललाई गिरफ्तार गरेको छ । आरोपितले उद्योगमा…
सदरमुकाममा भन्सार कार्यालय, ३ हजार रुपियाँ राजश्व बुझाउनका लागि १५ हजार रुपियाँ खर्च
जिल्लाको उत्तरी क्षेत्रमा रहेको किमाथाङ्का सीमा भन्सार कार्यालय सदरमुकाम खाँदबारीमा बस्दा सेवाग्राहीले सास्ती पाएका छन् । ३ हजार २ सय ५४ रुपियाँ भन्सार राजश्व बुझाउँन पाँच दिनको पैदल यात्रा गरी…