आन्तरिक द्वन्द्वका कारण न्यायिक समिति निष्क्रिय !

  ०७५ माघ १९ गते

पचरौता नगरपालिकाका प्रमुख रमेशकुमार यादव र उपप्रमुख इन्दुकुमारी यादवको आन्तरिक द्वन्द्वले न्यायिक समिति सक्रिय बन्नै सकेको छैन ।

काम गर्न बाधा अवरोध भएकाले सेवाग्राहीलाई समस्या भएको उपप्रमुख यादवले बताइन् । सपथग्रहण लिएदेखि सुरू भएको विवादले हालसम्म निकास पाउन सकेको छैन ।

यस आर्थिक वर्षमा न्यायिक समितिमा ४५ ओटा उजुरी परेकोमा ४० ओटा फस्र्योट भएको र पाँच ओटा उजुरी विचाराधिन रहेको उपप्रमुख यादवले बताइन् ।

कार्य सम्पादन गर्न नगर प्रमुख रमेशकुमार यादव र निमित्त प्रशासकीय अधिकृत रेशमबहादुर सिंहले कर्मचारी व्यवस्था नगरेको उप प्रमुखको आरोप छ ।

न्यायिक समिति बसेर काम गर्नका लागि कार्यालय, फर्निचरलगायतका आवश्यक सामग्रीको अभावमा कार्य गर्न असहज भएको उनले गुनासो गरिन् ।

सेवाग्राहीको कार्य सुचारू गर्न आपूmले खाइपाइ आएको तलव दिएर एकजना कर्मचारी राखेर मुद्दा हेर्ने गरेको उनको भनाइ छ ।

न्यायिक समिति र नगरपालिकाको कार्य गर्न निजी गाडि भाडामा लिएर काम चलाइरहेको उप प्रमुखले बताइन् । उप प्रमुखले सेवाग्राहीका समस्या समाधान गर्न पर्नेमा नगरपालिकाको विरोधमा उजुरी र मुद्दा दिने गरेकाले थप समस्या भएको नगरप्रमुख रमेशकुमार यदवको आरोप रहेको छ ।

विकास निर्माणका योजना अनुगमन गर्न बाधा परेको छ । सङ्घीय समाजवादी फोरमको बहुमतका आधारमा नगरपालिका चलेको उपप्रमुखको आरोप रहेको छ । उपप्रमुख राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएकी हुन् ।

न्यायिक समिति, राजश्व परामर्श समिति, गैरसरकारी सङ्घ संस्था परामर्श समिति, बजेट कार्यान्वयन समितिको संयोजक भए पनि काम गर्न नपाएको उपप्रमुखको गुनासो रहेको छ ।

न्यायिक समिति नगर सभाबाट गठन नगरी बोर्ड बैठक बाट गठन गरिएको बताइन् । योजनाहरूको अनुगमन गर्न विवरण माग गर्दा उपलब्ध नभएको बतइन् ।


भोलानाथ पौडेल