आत्महत्या न्यूनीकरणका लागि सचेतनाको आवश्यकतामा जोड

  ०७३ पुस ११ गते

नेपालको कानुन र सामाजिक संस्कारले पनि व्यक्तिको आत्महत्यालाई त्यति महत्व दिएका देखिँदैन । तर, आत्महत्याको विषयमा गहन अध्ययन गरिनुपर्ने बहसको विषय बनेको छ । राष्ट्रिय मानव अधिकार आयोगले बढ्दो आत्महत्याको 'ट्रेन्ड'लाई रोक्न छलफल चलाउन थालेको छ ।

आत्महत्या कतै लैङ्गिक विभेदको उपजले त भइरहेको छैन ? आयोगको एक टोलीले पुस ११ गते दैलेख सदरमुकाममा यही विषयमा छलफल चलाएको हो । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका मानव अधिकार अधिकृत लक्ष्मी पौडेलले आत्महत्या गर्नेमध्ये महिलाको सङ्ख्या बढी पाइएकाले यो 'ट्रेन्ड'लाई रोक्न आवश्यक रहेको बताइन् ।

उनले भनिन्-'कुल सङ्ख्यामा महिलाकै सङ्ख्या बढी पाइएकोले महिला हिंसाको कारक हुन सक्छ । अब यसबाट गहन अनुसन्धान गरी सचेतना फैलाउन जरूरी छ ।' त्यसैगरी मानव अधिकार अधिकृत द्वारिका अधिकारीले हरेक आत्महत्याको प्रहरी अनुसन्धान र समाजमा मानसिक स्वास्थ्य सचेतना बढाउनुपर्ने आवश्यकता औँल्याइन् ।

महिला विकास सहायक निरीक्षक सरला रेग्मीले दैलेखमा बालविवाह, बहुविवाहलगायका समस्याले महिलाहरूमा आत्महत्यासम्मको परिस्थिति सिर्जना हुने गरेको बताइन् । जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रकी सरिता सुनारले पढाइमा कमजोरीलगायतका कारणले आत्महत्या हुने गरेको बताइन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखको तथ्याङ्क अनुसार विगत तीन वर्षमा भएका आत्महत्याका ४७ ओटा घटनामा ४१ जना महिलाले आत्महत्या गरेका छन् ।


अमर सुनार