आत्महत्या दुरूत्साहन घटनाका आरोपितद्वय गिरफ्तार

  ०७६ फागुन १४ गते

सुन्दरहरैँचा नगरपालिका–५ की १९ वर्षीया प्रीति तिम्सिना अधिकारीलाई मानसिक दबाब दिएर आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् पीडित युवतीको नग्न तस्बिर सार्वजनिक गरिदिने धम्की दिँदै आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–६ का २३ वर्षीय ऋषिराम भट्टराई र १९ वर्षीया सञ्जीता निरौलालाई फागुन ९ गते गिरफ्तार गरी फागुन १३ गते सार्वजनिक गरेको हो ।

आरोपितद्वयले युवतीलाई फेसबुकमा साथी बनाएर धम्की दिँदै रकम असुलेको र पीडितले रकम दिन नसक्ने बताएपछि नग्न फोटो फेसबुकमा सार्वजनिक गरीदिने भनेपछि युवतीले ०७६ फागुन ८ गते आत्महत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले बताउनुभयो ।

पीडित युवतीले प्रयोग गर्दै आएको मोबाइल फोन र पीडितले छोडेको सुसाईड नोटमा आरोपितद्वयले आत्महत्या लागि दुरूत्साहन गरेको देखिएको फागुन १३ गते इलाका प्रहरी कार्यालय बेलवारीमा आयोजित पत्रकार सम्मेलनमा एसपी अधिकारीले बताउनुभयो ।

आरोपितद्वय विरूद्ध प्रहरीले जिल्ला अदालतमा फागुन १३ गते आत्महत्या दुरूत्साहन शीर्षकमा मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाएको छ ।

शवको पोष्टमार्टम फागुन ९ गते कोशी अस्पतालमा गरी सोही दिन शव परिवारलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।


नेत्रप्रसाद अधिकारी