आत्महत्या दुरूत्साहन आरोपमा पति र सासू गिरफ्तार

  ०७६ कात्तिक ५ गते

दुई महिना अघि बागलुङमा विवाह गरेकी पर्वत जलजला गाउँपालिका–५ लेकफाँट गैरागाउँ माइती भएकी १८ वर्षीया बिजु जिसी मृत फेला परेपछि आत्महत्या दुरूत्साहन गरेको आरोपमा प्रहरीले कात्तिक ३ गते मृतकका पति ३४ वर्षीय असिम खड्का र सासु ५५ वर्षीय देवी खड्कालाइ गिरफ्तार गरेको छ ।
जिसीको शव पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा पर्ने कालीगण्डकी किनारमा असोज २८ गते नदीमा माछा मार्न गएका स्थानीयले फेला पारेका थिए ।
मृतक जिसीले ०७६ भदौ २ गते बागलुङ नगरपालिकाको गुठी बस्ने खड्कासँग प्रेम विवाह गरेकी थिइन् ।
विवाहपछि परिवारले अस्वीकार गरेको र परिवारकै यातनाका कारण घर छाडेर हिँडेको भनेर मृतककी ३८ वर्षीया आमा कमला जिसीले जिल्ला प्रहरी कार्यालय, पर्वतमा असोज ३० गते मृतकका सासू र पतिविरूद्ध जिल्ला प्रहरी कार्यालय, पर्वतमा उजुरी दिएकी थिइन् । शवको पोष्टमार्टम असोज ३० गते जिल्ला अस्पताल पर्वतमा गरिएको थियो ।
हाल आरोपितद्वयलाई जिल्ला प्रहरी कार्यालय, पर्वतस्थित हिरासतमा राखेर अनुसन्धान गरिरहेको इन्स्पेक्टर राजन रायमाझीले जानकारी दिए ।


सन्तोष थापा