आत्महत्या दुरुत्साहनको कसुरमा चार वर्ष कैद

  ०७६ चैत ४ गते

बोदेबर्साइन नपा–७ बगबिरा की २२ वर्षीया आरतीकुमारी यादवको आत्महत्या दुरुत्साहनको कसुरमा उनका पति २९ वर्षीय सुरेशकुमार यादवलाई सप्तरी जिल्ला अदालतले चैत २ गते चार वर्ष कैद र ४० हजार रुपियाँ जरिवानाको फैसला गरेको छ ।

photo20200317saptari

जिल्ला न्यायाधीश सुदर्शन लामिछानेको इजलाशले सुरेशलाई यस्तो फैसला गरेको स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिनु भयो । स्रेस्तेदार वर्देवाका अनुसार आत्महत्या दुरुत्साहनको कसुरमा सजाय फैसला भएको सप्तरीको यो पहिलो मुद्दा हो ।

आरोपितहरूले ०७५ कात्तिक १४ गते बिहान यातना दिएर विष सेवन गराई हत्या गरेको भन्दै मृतकका दाजु बोदेबर्साइन नपा–५ का २६ वर्षीय अनिलकपुर यादवले ईलाका प्रहरी कार्यालय कल्याणपुरमा ०७५ कात्तिक १५ गते उजुरी दिनु भएको थियो ।

विष सेवनले गम्भिर बनेकी आरतीको उपचारका लागि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको थियो । धान र तरकारीमा छर्कने ब्लुम नामक विषादीको बट्टा मृतक सुत्ने कोठाबाट बरामद भएको थियो ।

आरतीसँग विवाह भएको महिना दिन नबित्दै २०७३ जेठमा मलेशिया उडेका सुरेश ०७५ असोज २४ गते घर आएका थिए । सामाजिक परम्पराअनुसार २०७३ वैशाखमा आरतीसँग विवाह हुनु अगावै आठ वर्ष मलेशिया बसेका सुरेशले उतै भारतीय मूलकी बङ्गाली युवतीसँग विवाह गरी छोराछोरी जन्मिएको भएपनि ढाँटेर आरतीसँग विवाह गरेको विषयमा सुरेश आएकै दिनदेखि पति–पत्नीबीच दैनिक झगडा हुने गरेको स्थानीय गाउँलेहरूले बताएका छन् ।

विवाह भए लगत्तै पति विदेश उडेकाले आरती सन्तानविहीन थिइन् । विष सेवनबाट महिलाको शङ्कास्पद ढङ्गले मृत्यु भएपछि प्रहरीले ०७५ कात्तिक १४ गते नै छिमेकी गाउँ हैटीस्थित दिदीको घरको बारीबाट आरोपित सुरेशलाई र मानराजा चोकबाट रामदेवलाई गिरफ्तार गरेको थियो ।

ईलाका प्रहरी कार्यालय कल्याणपुरले कात्तिक १५ गते कर्तव्य ज्यानको उजुरी दर्ता गरको थियो । बहुविवाह गरेको भन्दै भइरहेको विवाद र झगडापछि आवेशमा आई आरती स्वयम्ले विष सेवन गरेर आत्महत्या गरेको आरोपितहरूले बताएका छन् ।

जिल्ला अदालतको मङसिर १३ गतेको आदेशले सुरेश पुर्पक्षका लागि कारागारमा थुनामा थिए ।


मनोहरकुमार पोखरेल