आठ महिनासम्म सामाजिक सुरक्षा भत्ता वितरण नभएको गुनासो

  ०७६ चैत ३ गते

खार्पुनाथ गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता आठ महिनासम्म वितरण नभएको स्थानीयबासीले गुनासो गर्नु भएको छ ।

सो गाउँपालिकामा पहिलो चौमासिकतर्फको सामाजिक सुरक्षा भत्ता वितरण गर्न ढिलाई हुँदा सो ठाउँका बालबालिका, वृद्वावृद्वा, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरू प्रभावित भएका छन् ।

असार मसान्तमा वितरण हुनुपर्ने पहिलो चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण अन्यौलमा परेको छ । नेपाल सरकारले दिदै आएको ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग भएका नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता आठ महिना वित्दा पनि भत्ता वितरण नभएको सोही गाउँपालिका–३ रायाका तारावीर रावलले गुनासो गर्नु भयो । उहाँले भन्नु भयो भत्ता नपाउँदा हिउँदको तीन महिनापनि चिसोमै काटियो तर गाउँपालिकाले वितरण गर्न ढिलाई ग¥यो, मिठो मसिनो खाने धोको अधुरै रहयो ।

जनप्रतिनिधिले चुनावका बेला घरघरमै पुगेर भत्ता वितरण गरिने आश्वासन दिएपनि हालसम्म भत्ता नपाएको खार्पुनाथ गाउँपालिका–१ का ७० वर्षीय भियाल भण्डारीले गुनासो गर्नु भयो ।

त्यस्तै वृद्ववृद्वाहरूले भने समयमै भत्ता नपाएपछि सामाजिक सुरक्षा बापतको रकम नपाइने हो की भन्ने डरैडरले गर्दा समयमा अधिकारकर्मी र पत्रकार समेतलाई जानकारी नगराएपछि झन समस्या भएको भण्डारीको भनाई छ ।

आठ महिना बितिसक्दा पनि भत्ता नपाएपछि यस समस्यालाई बाहिर ल्याउन बाध्य भएको सोही ठाउँका अपाङ्गता व्यक्ति शिवकला शाहीले गुनासो गर्नु भएको छ ।

चुनावको बेला जनप्रतिनिधिले घरघरै पुगेर भत्ता वितरण गरिने आश्वासन दिएपनि अहिले बैंकसम्म धाउनै पर्ने बाध्यता रहेको स्थानीयबासी उग्र्यान भण्डारीले गुनासो गर्नु भयो ।

गाउँपालिकाले बजेट निकासा गरेको छ, तर सामाजिक सुरक्षा भत्ता पाउने नागरिकले बैंकमा खाता नखोलेका कारण वितरणमा ढिलाई भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले बताउनु भयो । उहाँले भन्नु भयो सो भत्ताका लागि सबैले बैँक खाता खोल्न पर्ने गाउँपालिकाको निर्णय भएकाले खाता खोल्ने वितिकै सुरक्षा भत्ता जम्मा गरिने जानकारी गराउनु भएको छ ।

उक्त विषयमा गाउँपालिका उपाध्यक्ष रुपा शाहीका अनुसार ३० प्रतिशत स्थानीयले खाता खोलिसकेको र आफूलाई विनियोजित बजेटका विषयमा जानकारी गाउँपालिकाले नगराएको उल्लेख गर्नु भयो ।

सो गाउँपालिकाका करिव ६ सय व्यक्ति सामाजिक सुरक्षा भत्ता पाउनबाट प्रत्यक्ष बञ्चित हुनु परेको छ यसको समयमै छानविन हुनु पर्छ उपाध्यक्ष शाहीको माग छ ।

सबै वडामा एकै पटक वितरण गर्न बजेट निकासा भएपनि यहाँका नागरिकले बैंकमा खाता नखोलेका कारण वितरणमा ढिलो भएको र लेखापाल काठमाण्डौँबाट हुम्ला आउने वित्तिकै सबैको खाता खोल्न लगाएर भत्ता जम्मा गरिने गाउँपालिका अध्यक्ष रावलले आश्वासन दिनु भयो ।


नन्द सिंह