आठौँ मानव अधिकार राष्ट्रिय महाभेला सुरू

  ०७३ मङ्सिर २४ गते 

६८ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भ पारेर आठौँ मानव अधिकार राष्ट्रिय महाभेला काठमाडौँमा सुरू भएको छ । 'सबैका लागि घरघरमा मानव अधिकार, शान्ति र विकासको आधार', "हाम्रो आवाज, हाम्रो सहभागिताः न्याय र विविधतामा आधारित हाम्रो समावेशिता" भन्ने मूल नाराका साथ मङ्सिर २४ गते महाभेलाको उद्घाटन गरिएको हो ।

महाभेलाको उद्घाटन गर्दै राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीले नेपालमा सङ्क्रमणकाल लम्बिँदै गएको कारण मानव अधिकारको अवस्था जटिल अवस्थामा पुगेको बताए । उनले सङ्क्रमणकाल बढ्दै जाँदा समाजमा द्वन्द्व र दण्डहीनता लम्बिँदै जाने सङ्केत देखिएको भन्दै मानव अधिकार आयोगले गरेका सिफारिसहरू कार्यान्वयन हुनुर्पेमा जोड दिए ।

सदस्य वस्तीले शक्ति जहिले पनि मिचाहा खालको हुने भन्दै पीडितलाई न्याय दिलाउनका लागि सरकारलाई निरन्तर दबाव दिनु आयोगको दायित्व भएको बताए । उनले पीडितलाई न्याय दिन सकिए राज्यको ठूलो सफलता हुने बताए ।

राष्ट्रिय महाभेलाका संस्थापक संयोजक चरण प्रसाईले मानव अधिकारको मुद्दा सबै नागरिकको मुद्दा भएको उल्लेख गर्दै यसले सम्पूर्ण जाति, धर्म, पेशा, वर्ग, लिङ्ग, अल्पसङ्ख्यक, सीमान्तकृत समुदायका मुद्दालाई समेट्नुपर्ने बताए ।

अधिकारकर्मी प्रसाईले न्याय माग्दामाग्दै गोरखाका नन्दप्रसादले ज्यान गुमाएको र उनकी पत्नी गङ्गामाया पनि न्यायको लडार्इंमा जीवन र मृत्युसँग सङ्घर्षरत अवस्थामा रहेको बताए । उनले द्वन्द्वकालका पीडितले न्याय नपाएसम्म मुलुकमा न्याय स्थापित हुन नसक्ने भन्दै वर्षौँदेखि न्यायको खोजीमा रहेका पीडितलाई अड्काएर राख्नुले उनीहरूलाई थप पीडा दिएको बताए ।

मानव अधिकार राष्ट्रिय महाभेलाकी संयोजक सुनी लामाले सबै नेपालीको हकअधिकार सुनिश्चितताका लागि महाभेलाले उत्प्रेरणा दिने बताउँदै महाभेला सबै जातजाति, धर्म, लिङ्ग र क्षेत्रमा बसोबास गर्ने नागरिकको दिवस भएको बताइन् । उनले महाभेलाले सबै नेपाली एक हौँ भन्ने महसुस गराएको भन्दै समाजमा पछाडि पारिएका चेपाङ, कुसुन्डा, बनकारिया, राउटेलगायतका जातिको मानव अधिकारको विषयमा महाभेलाले आवाज उठाउनुपर्ने बताइन् । विविध कार्यक्रमका साथ महाभेला तीन दिनसम्म चल्ने संयोजक लामाले जानकारी दिइन् ।

महाभेला उद्घाटन कार्यक्रममा मुस्लिम महिला तथा बालबालिकाको क्षेत्रमा योगदान पुर्‍याएकी नवजुल खानलाई राष्ट्रिय महाभेला पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै महाभेलाका पूर्व संयोजकहरू चरण प्रसाई, गणेश विके, कपिल श्रेष्ठ, सुदर्शन सुवेदी, गजाधर सुनार, कृष्ण सुवेदी, शान्तालक्ष्मी श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो ।


विवेक ढुङ्गाना