आचारसंहिता विपरीत राखिएका झण्डा र व्यानर हटाइयो

  ०७४ मङ्सिर ११ गते

विभिन्न राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत मोरङको विभिन्न स्थानमा राखेको प्रचार सामग्री निर्वाचन कार्यालयले हटाउन सुरू गरेको छ । मङ्सिर ११ गते केरावारी गाउँपालिका, बेलवारी, पथरीलगायतका स्थानमा राखिएका प्रचार सामग्री हटाइएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति नजिकिएसँगै दलका उम्मेदवारहरूले निर्वाचन आचारसंहिता विपरीत प्रचार सामग्रीको प्रयोग गरेका घटना बढेपछि निर्वाचन कार्यालयले त्यस्ता सामग्री हटाउन सुरू गरेको हो ।

क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरको अगुवाइमा प्रहरीसहितको टोलीले प्रचार सामग्री हटाउन थालेको हो ।

क्षेत्रीय निर्वाचन कार्यालय मोरङका प्रमुख प्रेमप्रसाद सञ्जेलले आचारसंहिता विपरीत प्रचार सामग्री राखिएको उजुरी बढेपछि हटाउने अभियान सुरू गरेको जानकारी दिए ।

प्रमुख सञ्जेलले सर्वदलीय बैठकमा आचारसंहिता पालना गर्न आग्रह गरिएको भएपनि अटेर गरेका कारण आफैँले अभियान चलाएको बताए ।


इन्दिरा भट्टराई