आचारसंहिता विपरीत राखिएका प्रचार सामग्री निकालियो

  ०७४ कात्तिक २० गते

निर्वाचन आयोगले उदयपुरमा कात्तिक २० गतेदेखि निर्वाचन आचारसंहितालाई कडाइ गरेको छ । आचारसंहिता विपरीत हुने गतिविधिलाई रोक्न र दलहरूलाई आचारसंहिताको पूर्णपालना गराउन प्रमुख निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाको नेतृत्वमा रेहेको प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखको टोलीले अनुगमन कार्य सुरू गरेको हो ।

टोलीले कात्तिक २० गते स्थानीय तहको निर्वाचनमा दलहरूले सार्वजानिक स्थानमा राखेका झण्डा, व्यानर, पोष्टर म्यादी प्रहरीको सहयोगमा निकालेको हो । दलहरूले बिजुली, टेलिफोनको पोल, रूख, विद्यालय र सार्वजानिक संरचनाहरूमा राखिएका झण्डा, पोष्टर जस्ता प्रचार सामग्री निकाली नष्ट गरेको प्रमुख निर्वाचन अधिकृत सापकोटाले बताए ।

उनले भने-'आजबाट अभियान सुरू भएको छ । सम्पूर्ण सार्वजानिक स्थानमा राखिएका यस्ता सामग्री नसकिउञ्जेलसम्म यो अभियानलाई निरन्तरता दिन्छौँ ।' आयोगले जिल्लास्थित राजनीतिक दलको उपस्थितिमा नै झण्डा तथा प्रचारसामग्री नष्ट गर्ने गरेको बताएको छ ।

अघिल्लो निर्वाचनमा दलहरूले आचारसंहित विपरीत सार्वजानिक स्थानमा प्रचार सामग्रीलाई छ्यापछ्याप्ती बनाएको विभिन्न सञ्चार माध्यममा प्रकाशन र प्रशारण भएपछि आयोगले यो पटक आचारसंहितालाई कडाइ गरेको हो । आचारसंहित विपरीत कार्य गर्न दलका उम्मेदवारको उमेदवारी खारेजीसम्म गर्ने अधिकार आयोगले ऐन कानुनमै व्यवस्था गरेको छ ।

आयोगको नीतिनियम विपरीत कार्य गर्नेलाई दण्डित गरिने आयोगले स्पष्ट पारेको छ । आयोगले दलहरूलाई प्रचार सामग्री के के गर्न पाउने, कति गर्न पाउने, खर्च कति गर्न पाउने जस्ता नीति नियमहरू बनाइसकेको छ । साथै, यसपटक अघिल्लो निर्वाचनमा प्रयोग भएको टोपी, भेष्ट, गम्छा जस्ता कार्यलाई प्रचार सामग्रीको रूपमा पूर्णरूपले निषेध गरेको छ ।


भरत खड्का