आचारसंहिता विपरीत भन्दै महानगरले गरेको शिक्षक सरूवा निर्वाचन कार्यलयद्वारा बदर

  ०७६ मङ्सिर ५ गते

उपनिर्वाचनका लागि आचारसंहिता जारी भइसकेको समयमा कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा महानगरपालिका–१६ को दुई विद्यालयमा गरिएको  शिक्षक सरूवा निर्वाचन कार्यलयले बदर गरेको छ ।
गत कात्तिक २० गते महानगरपालिकाको शिक्षा महाशाखाले वडा नं. १६ स्थित निर्मला आधारभूत विद्यालयकी शिक्षिका दुर्गाकुमारी शर्मा र सोही वडाकै ज्ञानज्योति माध्यमिक विद्यालयका शिक्षिका जमुनाकुमारी शर्मालाई उपनिर्वाचन हुने क्षेत्र भित्रै सरुवा गरेको थियो ।
दुर्गाकुमारी शर्मालाई वडा नं. १७ स्थित महतगौँडाको जानकी आधारभूत विद्यालयमा र जमुनाकुमारी शर्मालाई १९ गते वडा नं. ११ को काहुँ आधारभूत विद्यालयमा सरूवा गरेपछि निर्वाचन कार्यलयले उक्त सरूवा वदर भएको जानकारी महानगरपालिकालाई दिएको छ ।
आचारसंहिता विपरीत उजुरी परेपछि मुख्य निर्वाचन अधिृकतको कार्यालयले सरूवा बदर गर्न महानगरलाई मङ्सिर ३ गते पत्र लेखेको थियो ।
कात्तिक ८ गतेदेखि आचारसंहित लागु भएको  छ । निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद ४ को दफा १० ले आचारसंहिता लागु भइसकेको अवस्थामा कर्मचारी सरूवा, बढुवा गर्न वा काज खटाउन नपाइने व्यवस्था गरेको छ ।
साथै उक्त दफाको उपदफा १ मा ‘कर्मचारीलाई निर्वाचनको काममा बाहेक अन्यत्र सरूवा, बढुवा वा काजमा खटाउन हुँदैन ।’ भनिएको छ ।
जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले कार्यलयले पत्र काटेर बदर गर्न भनेको बताउनुभयो ।
महानगरपालिका शिक्षा महाशाखा प्रमुख गङ्गा गुरुङले निर्वाचन कार्यलयले पत्रचार गरेअनुरूप नै सरूवा बदर गरिने बताउनुभयो ।
‘त्यो नहुने नै भयो उहाँहरूले पत्रमा जे गर्न भन्नु भएको छ त्यही अनुसार नै हुन्छ ।’–गुरुङले भन्नुभयो ।


सुशन घिमिरे