आचारसंहिताविपरीत मोटरसाइकल र्‍याली निकालेकोमा स्पष्टीकरण

  ०७४ वैशाख २३ गते

निर्वाचन आयोगले ललितपुरको महालक्ष्मी नगरपालिकामा सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आचारसंहिताविपरीत मोटरसाइकल र्‍याली निकालेको जनाउँदै प्रमुखका उम्मेदवार जनक थापालाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आदेश दिएको राससले जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले अनुगमनको क्रममा सप्रमाण फेला पारी तत्काल र्‍याली रोक्न निर्देशन दिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रमुखका उम्मेदवार थापाले प्रचारप्रसारका लागि वैशाख २३ गते दिनको १२:३० बजे निर्वाचन आचारसंहिताविपरीत सातदोबाटो-कृष्णमन्दिर क्षेत्रमा मोटरसाइकल र्‍याली निकालेको आयोगले जनाएको छ ।

स्पष्टीकरणमा भनिएको छ-‘निर्वाचन आचारसंहिता विपरीत काम कारबाही गरेको कसुरमा हदैसम्मको कारबाही किन नगर्ने ? कारबाही गर्नु नपर्ने कुनै कारण भए प्रस्तुत पत्र प्राप्त भएको मितिले चौबिस घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेस गर्नुहुन आदेशानुसार अनुरोध छ ।‘

‘निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ५ को ‘क’ को १३ मा ‘निर्वाचन प्रचारप्रसारको क्रममा मोटरसाइकललगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारी साधनको र्‍याली गर्न वा गराउन नहुने’ उल्लेख छ ।

सेतोपाटीलाई पनि निर्देशन

यसैबीच, आयोगले निर्वाचन आचारसंहिताविपरीत सेतोपाटी डटकमले काठमाडौँ महानगरपालिकाका मतदातालाई ‘हामीले सोध्यौँ तपार्इं कसलाई भोट हाल्नुहुन्छ ? किन ?’ भन्ने शीर्षकमा मत सर्वेक्षण तथा मतदाताको धारणा सङ्कलन गरेकोप्रति सख्त ध्यानाकर्षण भएको जनाएको छ ।

आम जनताले आफूले कसलाई मत दिने र किन दिने भन्ने विषय गोप्य राख्न पाउने कानुनी प्रावधानलाई बेवास्ता गरी नागरिक हकविपरीत सर्भेक्षण कार्य गर्न निर्वाचन आचारसंहिता प्रतिकूल हुने भएको हुँदा अब आइन्दा यस प्रकारका सूचना, सन्देश र सर्वेक्षण गरी सार्वजनिक नगर्नरनगराउन आयोगले उक्त मिडियालाई निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ४ को ‘त’ मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख छ ।


अनलाइन डेस्क