आइसोलेशन कक्षको अनुगमन गर्न बिरामीको अनुरोध

  ०७७ साउन २८ गते

कलैया उमनपा–३ गङ्गापुरस्थित आइसोलेशनमा उपचारार्थ कारोना सङ्क्रमित बिरामीहरूले उचित सेवा प्रवाह नभएको पाइएको बताउँदै अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बारा जिल्ला प्रतिनिधिलाई साउन २८ गते अनुगमन गरी समस्या समाधानका लागि पहल गरिदिनु हुन पुनः अनुरोध गर्नु भएको छ ।

यसअघि इन्सेक बाराले साउन २६ गते प्रेस विज्ञप्ति मार्फत गंगापुरस्थित आइसोलेशनमा उचित सेवा प्रवाह नभएको बताउँदै यथा सिघ्र अवस्था सुधार गर्न कलैया अस्पताल प्रशासन, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँग माग गरेको थियो ।

इन्सेक बाराको विज्ञप्ति प्रकाशन भएपछि प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले कलैया अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट वीरेन्द्रप्रसाद मण्डललाई साउन २६ गते नै पत्र लेखेर २४ घण्टा भित्र आवश्यक जनशक्ति परिचालन गरी साइसोलेशनको सरफाई, खाना, खाजाको गुणस्तर सुधार गरी फोटोसहित पेश गर्न अनुरोध गर्नु भएको थियो ।

तर, अस्पतालले प्रमुख जिल्ला अधिकारीलाई भ्रममा राखेर सुधार नगरी सुधार भएको भनि अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी बस्ने स्थानको फोटो खिचेर बस्ने ठाँउ सफा भएको बताएको बिरामीहरूको आरोप छ ।

साउन २६ गते र सो भन्दा पहिला आइसोलेशनमा बस्नु भएका बिरामीहरूसँगको टेलिफोनमा भएको कुराकानी र उहाँहरूले पठाउनु भएको फोटोलाई आधार बनाएर प्रेस विज्ञप्ति जारी गरिएको थियो ।

जिल्ला प्रतिनिधि भोलानाथ पौडेलद्वारा हस्ताक्षरित उक्त प्रेस विज्ञप्तिमा कलैया अस्पताल अन्तर्गतको कोभिड अस्पतालले सङ्क्रामक रोग ऐन २०२० को दफा २ को उपदफा ३ को मर्म अनुसार सेवा प्रवाह नगरेको, नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशिका अनुसार बिरामीको उपचार नगरेको, स्वच्छ खाना, सफा तातो र चिसो पानी, सफा शौचालय र पङ्खालगायतको व्यवस्था गर्न कलैया अस्पताल प्रशासन, जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँग माग गर्नु भएको छ ।

पत्रको बोधार्थ सामाजिकविकास मन्त्रालय, जनकपुरधाम र कलैया उप–महानगरपालिकाको कार्यालयमा पठाएको प्रमुख जिल्ला अधिकारी पण्डितले बताउनु भयो ।

आइसोलेशनमा बस्नु भएका बिरामीका अनुसार आइसोलेशन कक्षमा कुनै सुधार नभएको, थुनुवालाई थुनेर राखेको र कुनै वास्ता नगरेकाले इन्सेकको अगुवाइमा आइसोलेशन कक्षको अनुगमन गर्न जिल्ला प्रतिनिधिसँग अनुरोध गर्नु भयो ।

कोरोना सङ्क्रमितले आफु बसेको कोठा आफैले सफा गर्नुपर्ने कलैया अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट बीरेन्द्र मण्डलले बताउनु भएको छ ।

photo20200811bara


भोलानाथ पौडेल