अस्पताल जान कि डोकोमै बोकिएर कि हेलिकप्टर चार्टर !

  ०७५ चैत ३० गते

नेपालको संविधान भाग–३ अन्तर्गत मौलिक हक र कर्तव्यको धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत स्वास्थ्य सेवा निशुल्क प्राप्त हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी उल्लेख गरिएको छ ।

तर, एउटा नगरपालिकासहित आठ ओटा गाउँपालिकाका बासिन्दाले आधारभुत सेवा पाउनु त के बिरामी हुँदा लाखौ रूपैयाँ खर्चेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ ।

घरदेखि घण्टौँ टाढाको स्वास्थ्य चौकी तथा स्वास्थ्य चौकीले रेफर गरे दुई दिनसम्म पहाडको अप्ठेरो बाटोमा डोकोमा बिरामी बोक्नु जोखिमपुर्ण हुने भएकाले हेलिकप्टर चार्टर गर्नु रहर नभई बाध्यता भएकोे छ ।

मुश्किलले ५-६ घण्टा पैदल हिँडेर पुगिने कतिपय स्वास्थ्य चौकीमा प्राय स्वास्थ्यकर्मी र औषधिको समस्या हुँदाको पीडा बिरामीलाई छँदैछ । कतिपय बिरामीले स्वास्थ्य चौकी तथा अस्पताल नपुगी ज्यानै गुमाउनुपरेको छ ।

जिल्लाको ओलाङचुङगोला, घुन्सा, फले, याङ्मा, पापुङ र याम्फुदिनजस्ता दुर्गम बस्तीका सेवाग्राही हेलिकप्टर चार्टर गरेर उपचार गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता छ ।

‘डोकोमै बोकेर अस्पताल नत्र हेलिकप्टर चार्टर गर्नुको विकल्प छैन ।’–घुन्साका स्थानीय हिमाली चुङदाले भने–‘सामान्य अवस्थामै अपर्झट बिरामी हुँदा त समस्या हुन्छ । क्षणभरमै आर्थिक र हेलिकप्टर व्यवस्थापन नभए अकालमै ज्यान गुमाउनु पर्छ ।’

फक्ताङलुङ गाउँपालिका–६ ग्याब्लाका १९ वर्षीय तेञ्जिङ शेर्पाको दाँत दुखेपछि ०७५ भदौ २१ गते परिवारले काठमाडौबाट हेलिकप्टर झिकाए ।

मौसम प्रतिकुलताका कारण तीन दिन पर्खँदा समेत हेलिकप्टर आउन सकेन । बिरामले झन् च्याप्दै गयो । र, भदौ २४ गते गाउँले भेला भएर स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल हिँडाए ।

सोही राति लेलेप स्वास्थ्य चौकीमा लगेर प्राथमिक उपचार गराएर अस्पताल लाने क्रममा भदौ २५ गते बाटैमा शेर्पाको मृत्यु भयो । ग्याब्लाबाट जिल्ला अस्पताल पुग्न दुई दिन लाग्छ ।

‘गाउँमा मोटरबाटो पुगेको छैन ।’–तेञ्जिङका दाजु डण्डुले भने–‘स्वास्थ्य संस्था टाढा छ । हेलिकप्टर समेत आउन नसकेपछि भाइलाई बचाउन सकिएन ।’

०७५ असारमा मिक्वाखोला गाउँपालिका–४ साँवाका पदमसुन्दर थलङलाई झाडापखालाले च्याप्यो । स्ट्रेचरमै बोकेर अस्पताल लेजाँदै गर्दा लिवाङको छिपछिपेमा थलङको प्राण गयो ।

परिवार र आफन्तले लिवाङको पहिरो नछिचोल्दै २५ वर्षीय थलङलाई गुमाएका थिए । यी त प्रतिनिधिमूलक घटना हुन् ।

यहाँका धेरै बिरामीले अस्पतालको मुखसमेत देख्न पाउँदैनन् भने कतिपयले बाटोमा ल्याउँदा–ल्याउँदै ज्यान गुमाएका घटना छन् ।

नागरिकलाई घरदैलोमै सेवा दिन भन्दै गाउँमै स्थानीय सरकार गठन भए पनि स्वास्थ्यको क्षेत्रमा त्यसको महसुस भने हुन नसकेको सिरीजङ्गा गाउँपालिकाका अध्यक्ष टीकाराम गुरूङ स्वीकार गर्छन् । अध्यक्ष गुरूङले भने–‘शतप्रतिशत स्वास्थ्य सुविधा दिन सकेको छैन । दक्ष कर्मचारी, आवश्यक उपकरण र सेवाग्राहीलाई सहज महसुस हुने गरिको पूर्वाधार निर्माणमा केन्द्रीत छौ ।

सुत्केरी गराउन दक्ष स्वास्थ्यकर्मी र चौकी नहुँदा गाउँपालिका–८ याम्फुदिनमै ११ जनाको ज्यान गएको तीतो अनुभव सुनाउँदै अब यस्तो अवस्था आउन नदिन सचेत रहेको अध्यक्ष गुरूङले बताए ।

photo20190413taplejung


देवराज गुरूङ