अस्पतालमै धामीझाँक्रीको भरपर्दा एक जनाको मृत्यु

  ०७४ साउन २५ गते

अन्धविश्वासमा परेर उपचार नपाउँदा हनुमाननगर कंकालिनी नपा-५ का ७८ वर्षीय दुःखाई साहको साउन २५ गते मृत्यु भएको छ ।

Photo20170809Saptari

विषालु सर्पले टोकेपछि समयमै अस्पताल पुर्‍याई चिकित्सकीय पद्धतिबाट उपचार गराउनुको साटो धामीझाँक्रीको भर पर्दा उनको मृत्यु भएको स्थानीयबासीले बताए ।

घरमा सुतिरहेका साहलाई साउन २४ गते राति विषालु सर्पले टोकेपछि गाउँलेहरूको दबावमा राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरे पनि उनका आफन्तले गाउँबाट एक झाँक्रीलाई झिकाएर झारफुक गर्न लगाएकाले मृत्यु भएको चिकित्सकहरूले बताएका छन् ।

अस्पतालभित्रै झाँक्री बोलाएर झारफुक गर्न थालेपछि चकित परेका चिकित्सकहरूले त्यसो नगर्न सुझाए पनि आफन्तको जीद्दि र अन्धविश्वासका कारण चिकित्सकहरू पछि हटेका थिए । सर्पले टोकेपछि अस्पताल ल्याउन ढिलाई गर्नु र ल्याएपछि पनि धामीझाँक्रीको भर पर्नाले साहको ज्यान गएको चिकित्सकहरूको भनाई छ । अस्पतालभित्र धामीझाँक्री ल्याउन नमिल्ने भए पनि आफन्तको जिद्दि र चर्को दबावले रोक्न नसकिएको अस्पतालले जनाएको छ ।

चिकित्सहरूले उपचार सेवा सुरु गरेपनि पटक-पटक धामीझाँक्रिी र साहका आफन्तले धामीलाई देखाउन नदिए सम्पूर्ण जिम्मेवारी अस्पतालले लिनुपर्ने भन्दै अवरोध गरेका थिए ।

गर्मी र वर्षासँगै जिल्लामा सर्पदंशको घटना ह्वात्तै बढदा एक महिनाको अवधिमा स्थानीय अञ्चल अस्पतालमा १ सय ५५ जना सर्पदंशका बिरामीहरू उपचारका लागि आएका छन् । दैनिक पाँचदेखि सात जनासम्म सर्पदंशबाट घाइते हुनेहरू उपचारका लागि आउन थालेपछि एन्टी स्नेक भेनम औषधि पर्याप्त मात्रामा स्टक गरिएको अस्पतालका सिनियर अहेब मनोजकुमार देवले बताए ।


मनोहरकुमार पोखरेल