अस्पतालमा विशेषज्ञ र उपकरणको अभावमा सेवाग्राही प्रभावित

  ०७३ कात्तिक १३ गते

जाजरकोट जिल्ला अस्पताल स्तरवृद्धि भएको पाँच महिनासम्म पनि कुनै विशेषज्ञ सेवा सुरु हुन नसकेको स्थानीयबासीले गुनासो गरेका छन् ।

भेरी मालिका नपा–१ कालेगाउँका जसवीर परियार सर्पले टोकेपछि अस्पताल पुगेपनि अस्पतालमा सर्पको टोकाइबाट बच्ने औषधि एण्टी स्नेक भेनम भएपनि आफूलाई मिसन अस्पताल चौरजहारीमा उपचारका लागि पठाइएको बताए ।

आफूलाई अस्प्पतालमा उपचार हुन नसक्ने भन्दै मिसन अस्पताल चौरजहारी रिफर गरिएको परियारले गुनासो गरे । यो घटनापछि परियारले गुनासो गर्दै भने–‘अस्पतालको स्तर वृद्धि भएपनि आफूहरूले प्रभावकारी सेवा पाएनौँ ।’

सरकारले १५ शैयाको अस्पताललाई स्तरवृद्धि गर्दै ५० शैयाको बनाएको थियो । सरकारी निर्णय अनुसार तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले जेठ १० गते ५० शैयाको जाजरकोट अस्पताल एक समारोहकाबिच उद्घाटन गरी शुभारम्भ गरेका थिए ।

स्तरवृद्धिसँगै भवन, विशेषज्ञ जनशक्ति र आवश्यक उपकरणको अभावमा अस्पताल नाम मात्रको भएको खलङ्गा थाप्लेचौरका प्रकाशकुमार शाहीले बताए । स्तरवृद्धिको घोषणापछि अस्पतालमा स्वास्थ्य सेवाको एघारौँ तहको एक जना मेडिकल सुपेरिटेण्डेण्ट, आठ जना दशौँ तहका विशेषज्ञ, चार जना मेडिकल अधिकृत, पाँच जना स्वास्थ्य सहायक, ६ जना स्टाफ नर्स, ६ जना अनमी, र ११ जना कार्यालय सहयोगीलगायत अन्य स्वास्थ्यकर्मीको दरबन्दी सृजना गरिएको  थियो ।

शैया बढेसँगै जिल्ला अस्पतालमा स्त्री रोग, बालरोग, हडडी, मानसिक रोग विशेषज्ञका साथै बेहोस बनाउने, चिरफार लगायत, मेडिसनका विज्ञहरूको सेवा पनि अस्पतालमा प्रवाह हुने भनिएको छ । तर कात्तिक ११ गतेसम्म अस्पतालमा एक जना डेन्टल सर्जन र चार जना मेडिकल अधिकृत मात्र आएपनि उपकरणको अभावमा उनीहरूले पनि काम गर्न नपाएको निमित्त प्रमुख डा.चादनी जैसवालले बताइन् । अस्पतालमा आएका केही उपकरण र बेड प्रयोग विहीन भएको उनले बताइन् ।

स्तर वृद्धिसँगै अस्पतालमा विभिन्न नौ ओटा विशेषज्ञ सेवा सुरु गर्ने भनिएपनि अहिलेसम्म एउटा पनि सेवा सुरु नभएको उनले बताइन् । विशेषज्ञ चिकित्सक र सेवा सञ्चालन गर्ने उपकरण तथा अन्य साधन र बेडहरू नहुँदा अस्पतालमा नाम अनुसारको सेवा सुचारू गर्न नसकिएको निमित्त प्रमुख जैसवालले बताइन् ।

टालेगाउँ गाविस–७ की तारा सिंहलाइ सुत्केरी व्यथा लागेर अस्पताल जाँदा सुरुमै केही गर्न नसकिने भन्दै डाक्टरहरूले चौरजहारी मिसन अस्पतालमा रिफर गरिदिएको उनका भाइ खिमवहादुर सिंहले बताए  ।

‘१५ शैयावाट ५० शैयामा स्तरउन्नति गरियो । तर, अहिले जाजरकोट अस्पताल नाम मात्रको भएको छ ।’–खलङ्गा थाप्लेचौरका प्रकाश कुमार शाहीले भने । उनले अस्पतालको स्तर बढेपछि पनि सामान्य उपचारका लागि चौरजहारी तथा नेपालगञ्ज जानुपर्ने जाजरकोटीहरूको बाध्यता नहटेको बताए ।

सुत्केरी र अन्य सामान्य अवस्थाका बिरामीलाई जिल्ला बाहिरका अस्पतालहरूमा रिफर गर्नु नै अस्पतालको मुख्य काम भएको उनले गुनासो  गरे ।


दिनेशकुमार श्रेष्ठ