अस्पतालमा भाइरल बिरामीको चाप बढ्दो, डाक्टर अभावका कारण उपचारमा समस्या

  ०७६ भदौ २५ गते

सिन्धुली अस्पतालमा भदौ लागेसँगै भाइरल ज्वरो तथा रूघाखोकीका बिरामीको चाप बढ्दै गएको छ । गत वैशाखदेखि डाक्टरको अभाव भएको सिन्धुली अस्पतालमा हालसम्म पनि डाक्टरहरू नआउँदा बिरामीको उपचारमा समस्या भएको अस्पतालले जनाएको छ ।

भाइरल ज्वरोका बिरामीहरूको उपचार गर्ने क्रममा एक जनामा डेङ्गु सङ्क्रमण देखिएपछि सिन्धुली अस्पतालमा डेङ्गु रोग परीक्षणका २५ ओटा किट स्वास्थ्य मन्ञालयबाट ल्याइएको छ ।

दिनमा करिब २ सयदेखि २ सय ५० सम्म बिरामी आउने अस्पतालमा पछिल्लो समय बिरामीको सङ्ख्या दोब्बर भएको सिन्धुली अस्पतालका डा.वर्षा प्रकाशले बताइन् ।

मौसम परिवर्तनसँगै भाइरलका बिरामी बढेको र अस्पतालमा दुई जना मात्र डाक्टर भएकाले बिरामीको उपचारमा निकै समस्या भएको उनले बताइन् । उनले भनिन्-'डाक्टर नहुँदा काम गर्न निकै गाह्रो भएको छ ।'

उनका अनुसार ओपिडिमा दैनिक ३ सय र इमरजेन्सीमा १ सयको हाराहारीमा बिरामी आउँछन् । ५१ शैयामा सञ्चालित उक्त अस्पतालमा बिरामीले डाक्टरलाई भेट्नका लागि चार-पाँच घण्टासम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ ।

अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट सुमित्रा गौतम सहितका विशेषज्ञ डाक्टर र अन्य प्राविधिक कर्मचारीहरूको समायोजनका कारण अन्यत्र सरूवा भएपछि अस्पताल रित्तिएको हो ।

कर्मचारी तथा डाक्टरको अभावका कारण अस्पतालमा समस्या भएपछि अस्पताल विकास समितिका अध्यक्ष सहितको टोली डाक्टरको खोजीका लागि काठमाडौँमा धाइरहेको अस्पतालले जनायो ।

गत वैशाखदेखि नै सरकारले सिन्धुली अस्पतालका लागि स्वास्थ्यकर्मी नपठाउँदा समस्या भएको अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलले बताए ।

उनका अनुसार प्रदेश सरकार अन्तर्गतको यो अस्पतालमा 'सङ्घले नै प्रदेशमा डाक्टर नपठाएका कारण' समस्या भएको हो ।

अहिले सिन्धुली अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट सहित चार विशेषज्ञको दरबन्दी खाली रहेको छ । बिरामी बेहोस बनाउने डाक्टर र सर्जरी गर्ने डाक्टरको अभावका कारण अप्रेशन सहितको सुत्केरी सेवा समेत बन्द भएको छ ।

अस्पतालमा बालरोग विशेषज्ञ, स्त्री रोग विशेषज्ञ, हाडजोर्नी रोग विशेषज्ञसहितका सबै विशेषज्ञ सेवाहरू अवरूद्ध छन् ।


विमला पाण्डे