अस्पतालमा डाक्टर नहुँदा सेवाग्राही समस्यामा

  ०७७ साउन १२ गते

शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर अस्पताल डाक्टरविहिन हुँदा सेवाग्राहीहरु समस्यामा परेका छन् ।

चार जना डाक्टर कार्यरत गोकुलेश्वर अस्पतालमा हाल एक जना पनि डाक्टर नभएपछि सेवाग्राहीहरु समस्यामा परेका हुन् ।

लामो समयसम्म डाक्टर अभाव हुँदा पनि नगरपालिकाले समयमै पदपुर्तितर्फ चासो नदिएको स्थानीय राजेश विष्टको आरोप छ ।

उहाँले भन्नु भयो– ‘स्वास्थ्यकर्मी अभावले सेवा प्रवाह सुस्त बनेको छ । बिरामीको भीड अत्याधिक छ तर अस्पतालमा डाक्टर छैनन् । उपचारका लागि आउने बिरामीहरुले सास्ती भोग्नु परेको छ । यसतर्फ सरोकारवालाको समयमै ध्यान जानु पर्छ ।’

उपचारका लागि अस्पतालमा आउँदा अत्याधिक बिरामीहरुको चाप हुने तर डाक्टर अभावका कारण बिहान १० बजेदेखि बेलुकीसम्म लाइन बस्नु पर्ने बाध्यता रहेको स्थानीय गंगा जोशीले गुनासो गर्नु भयो ।

उहाँले भन्नु भयो– ‘गत कात्तिकदेखि अस्पतालमा डाक्टर थिएन् । नगरपालिकाले ध्यान नदिएका कारण हालसम्म पनि बिरामीहरुले समस्या भोग्नु परेको छ ।’

गोकुलेश्वर अस्पतालमा कार्यरत दुई जना स्थायी दरबन्दीका डाक्टर रोशन भगत र गौमा धामी गत कात्तिकमा अध्ययन विदामा गएका र संघीय सरकारले पठाएका डाक्टर लेकेन्द्र थापाको करार अवधि साउन १ गते र सरकारको छात्रबृत्रिमा अध्ययन गरेका डाक्टर भट्टको दुई वर्षे दुर्गम सेवा अवधि सकिएपछि गोकुलेश्वर अस्पताल डाक्टरविहिन बनेको शैल्यशिखर नगरपालिका स्वास्थ्य संयोजक चक्रसिह कार्कीले बताउनु भयो ।

दार्चुला र बैतडी सीमा क्षेत्रमा रहेको गोकुलेश्वर अस्पतालमा दैनिक ४० ÷  ५० जना बढि बिरामी आउने गरेकाले चेकजाँचमा समस्या हुने गरेको स्वास्थ्य संयोजक कार्कीले बताउनु भयो ।

शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र विष्टले गोकुलेश्वर अस्पतालको लागि पाँच जना स्टाफ नर्स, दुई जना ल्याब सहायक, पाँच जना अहेव, नौ जना अनमीलगायत ३३ जना कर्मचारीको पदपुर्तिका लागि सूचना जारी गरिएको र  डाक्टरको लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालय, डोटीसँग आग्रह गरिएको बताउनु भयो ।

उहाँले भन्नु भयो– ‘हामीले स्वास्थ्य निर्देशकलाई डाक्टरको लागि गुहार मागेका छौँ । अहिलेसम्म पठाउनु भएको छैन् । डाक्टर नहुँदा अहिले पोष्टमार्टम गर्न र दिर्घ तथा जटिल रोग भएका बिरामीहरुलाई कठिनाई भएको छ ।’

गोकुलेश्वर अस्पतालमा डाक्टर नहुँदा शैल्यशिखर, लेकम, मार्मा, नौगाड, अपिहिमाललगायतका क्षेत्रबाट पोष्टमार्टम गर्नु पर्ने शव जिल्ला ल्याउनु पर्ने बाध्यता रहेको छ ।


नरेन्द्रसिह कार्की