अस्पतालमा उपकरण र जनशक्ति अभाव हुँदा उपचारबाट वञ्चित

  ०७६ कात्तिक १० गते

जिल्लाको सरकारी अस्पताल रुम्जाटार अस्पतालमा उपचारमा प्रयोग हुने अत्याधुनिक उपकरण र जनशक्ति अभाव हुँदा सर्वसाधारण उपचारबाट वञ्चित भएका छन् ।

अस्पतालमा सुविधासम्पन्न भवन भए पनि शल्यक्रियाका लागि आवश्यक उपकरण तथा विशेषज्ञ डाक्टर छैनन् । जनशक्ति र उपकरण अभाव हुँदा अस्पतालमा सामान्य चेकजाँच तथा औषधि वितरणको मात्रै सेवा सुचारु छ ।

१५ शैयाको अस्पतामा १० देखि १२ ओटा शैया प्रायः खाली हुने गरेको स्थानीयले बताए । सेवा नभएपछि गम्भीर प्रकृतिका शल्यक्रिया तथा उपचारका लागि आकस्मिक रूपमा हेलिकोप्टर चार्टर गरेर काठमाडौँ धाउनु पर्ने बिरामीको बाध्यता छ ।

प्यारालाईसिस तथा गम्भीर चोट लागेका आफन्तलाई हेलिकोप्टर चार्टर गरेर काठमाडौँ लानु परेको सिद्धिचरण नगरपालिका–१२ का विनोद श्रेष्ठले गुनासो गरे ।

उनले जिल्लामै उपचारको सुविधा भए उपचारका लागि ऋण खोजेर हेलिकोप्टर चार्टर गर्नु पर्ने बाध्यता नहुने बताए ।

दुर्घटना, तथा अन्य कारणले गर्नु पर्ने शल्यक्रिया तथा गम्भीर उपचार गर्न अस्पतालमा उपकरण र जनशक्ति नभएकै कारण बिरामी जिल्ला बाहिर पठाउनु परेको अस्पतालका डाक्टर मुकुन्द यादवले बताए ।

उनले अन्य सेवाका लागि जनशक्ति र उपकरण भए पनि सरुवा रोगको परीक्षणका लागि किट तथा शल्यक्रियाका उपकरण र विशेषज्ञ नभएको यादवले बताए ।

सरकारी अस्पतालमा सेवा नपाएपछि हप्तामा दुई देखि तीन जना बिरामी हेलिकोप्टर चार्टर गरेर उपचारका लागि काठमाडौँका महङ्गा अस्पताल धाउँछन् ।

रुम्जाटार अस्पतालमा कुनै पनि प्रकारको विषेशज्ञ सेवा उपलब्ध छैन । नेपालको संविधानमा स्वास्थ्यको हक मौलिक हकका रूपमा परिभाषित गरिएको छ ।

सरकारले प्रत्येक स्थानीय तहमा विषेशज्ञ सेवा सहितको सुविधासम्पन्न अस्पताल बनाउने नीति ल्याएको छ । तर, कार्यन्वयनमा ढिलाई हुँदा नागरिक अधिकारबाट वञ्चित भएका छन् । २०६६ सालमा स्थापना भएको यो अस्पतालले अझैसम्म अपरेशन थिएटर सञ्चालनमा ल्याउन सकेको छैन ।

युनाइटेड मिसन टु नेपालद्वारा सिद्धिचरण नगरपालिका–११ स्थित सोब्रुमा सञ्चालित ५० शैया क्षमताको ओखलढुङ्गा सामुदायिक अस्पतालको हालत पनि उस्तै छ ।

विशेषज्ञ डाक्टर र उपकरण अभाव देखाउँदै यो अस्पतालले पनि बिरामीहरूलाई राजधानी काठमाडौँ, विराटनगरलगायतका सहरका सुविधासम्पन्न अस्पतालमा रिफर गर्दै आएको छ ।

यहाँका अस्पतालमा विशेषज्ञ डाक्टर र एमआरआई, सिटीस्क्यान तथा ल्याबका सेवाहरू नहुँदा समस्या भोग्नु परेको सिद्धिचरण नपा–११ का उरमान तामाङले बताए ।

उनले स–साना रोग समेत जिल्लामा पहिचान नहुने भएकाले हेलिकोप्टर चार्टर गरेर काठमाडौँ जान बाध्य भएको बताए ।

सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले सरकारले एक स्थानीय तहमा सुविधा सम्पन्न अस्पताल स्थापना गर्ने नीति अनुसार जिल्ला अस्पताललाई थप अपग्रेड गरेर अत्याधुनिक बनाउन पहल गरिरहेको बताए । उनले स्वास्थ्यका सवालमा स्थानीय सरकार संवेदनशील रहेको दावी गरे ।

photo20191027okhaldhunga


शिवप्रसाद ढुङ्गाना