अस्पतालमा आवश्यक शैया नहुँदा उपचार भुइँमै

  ०७६ साउन २० गते

गत फागुन महिनामा केन्द्रीय अस्पतालको मान्यता प्राप्त गरेको भरतपुर अस्पतालको सुत्केरी वार्डमा आवश्यक शैया नहुँदा सुत्केरी र नवजात शिशुको भुइँमै उपचार भइरहेको छ ।

यो अस्पतालमा हिजो आज दैनिक ४० जनासम्म सुत्केरी हुने भएपनि सुत्केरीका लागि २५ ओटा शैया मात्र रहेकाले १५ जना सुत्केरीका लागि शैया अपुग हुने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले बताए ।

यसरी नवजात शिशुहरू जन्मने बित्तिकै भुइँमा सुत्न बाध्य रहेको सुत्केरी वार्ड विस्तारका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरिएता पनि आवश्यक सुनुवाइ नभएको सुपरिटेण्डेन्ट तिवारीले बताए ।

शिशु जन्मदेखि २४ घण्टासम्मको अवधि निकै चुनौतिपूर्ण हुने उल्लेख गर्दै विश्व स्वास्थ्य सङ्गठनले २४ घण्टाअघि अस्पतालबाट डिस्चार्ज समेत गर्न नहुने जनाएको छ ।

शैया थोरै तर सेवा लिने धेरै भएकाले समस्या रहिरहेको अस्पतालले जनाएको छ । ६ सय शैया रहेको अस्पतालमा सुत्केरी वार्डमा नौ जना कन्सल्टेण्ट डाक्टर कार्यरत रहेका छन् ।


दिपेन्द्र अधिकारी