अस्पतालमा आइसियू सेवा सञ्चालन नहुँदा सेवाग्राही मर्कामा

  ०७४ फागुन २५ गते

जिल्ला अस्पतालमा अत्यावश्यक आइसियू सेवा नहुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । अस्पतालमा सेवाग्राहीको चाप बढेसँगै आइसियू सेवा आवश्यक परेको भएपनि जिल्लामा सो सेवा उपलब्ध छैन ।

आइसियू सेवा नहुँदा बिरामीहरू सो सेवा लिनका लागि काठमाडौँ वा पोखरासम्म पुग्नु पर्ने अवस्था रहेको बेशीसहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बताए । गम्भीर प्रकृतिका बिरामीहरूलाई तत्काल आइसियू सेवा प्रदान गर्नुपर्ने भएपनि अस्पतालले सेवा प्रदान गर्न नसकेको अर्यालको भनाइ छ ।

अस्पतालका प्रमुख युवराज देवकोटाका अनुसार आइसियू सेवाका लागि एनेस्थेसियोलोजिस्ट तथा आवश्यक कोठाको समेत अभाव छ । आइसियू सेवा सञ्चालन गर्नाका लागि महिना अघि सो सेवालाई आवश्यक पर्ने जीए मेसिन दक्षिण कोरिया सरकारले उपलब्ध गराइसके पनि त्यसको प्रयोग हुन नसकेको देवकोटाले बताए ।

जिल्लाको एक मात्र अस्पताल भएको हुनाले आवश्यक सबै सेवा उपलब्ध गराउनु पर्ने जिल्ला समन्वय समिति प्रमुख लोकराज पाण्डेले प्रतिक्रिया दिए । अस्पतालमा आवश्यक सेवा थप्नका लागि पहल गर्ने जिल्ला समन्वय समिति प्रमुख पाण्डेले जनाएका छन् ।


दलबहादुर मजाकोटी