अस्पतालमा बन्धक भएको भन्दै मुक्ति र न्यायका लागि माग !

  ०७७ भदौ १० गते

अग्नीसाइर कृष्णसवरन गाउँपालिका–६ महुलीका ३० वर्षीय भुटाइ भनिने शिवचन्द्र सदा र उहाँकी २८ वर्षीया पत्नी मलियादेवी सदा उपचार खर्च तिर्न नसक्दा विराटनगरको गोल्डेन अस्पतालमा बन्धक बन्नु परेको छ ।

खोला छेउको ऐलानी जमीनमा घर बनाएर बसेका भूमिहीन दलित मुसहर समुदायसँग उपचार खर्च नभएकाले बन्धक बन्नु परेको भन्दै शिवचन्द्रका भाइ पवन सदाले भदौ ८ गते प्रदेश २ सरकारका मुख्यमन्त्री, मानव अधिकार आयोग, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सप्तरीका प्रमुख जिल्ला अधिकारी समक्ष न्याय र उपचार खर्चका लागि निवेदन दिनु भएको छ ।

दलित सरोकार मञ्च नेपालको सहयोगमा अनलाइनमार्फत उजुरी गरिएको मञ्चका भोला पासवानले जानकारी दिनु भयो ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी प्रतिज्ञापत्र १९६६, नेपालको संविधान, दलित सशक्तिकरण ऐनको हवाला दिँदै सदाले उजुरीमा अस्पतालको औषधि उपचार खर्च तिरेर निको भएका घाइतेहरूलाई मुक्त गर्न, आरोपितलाई जातीय भेदभाव तथा कसूर सजाय ऐन २०६८ अन्तर्गत कारवाहीका लागि पहल गर्न माग गर्नु भएको छ ।

नेपालको संविधानले मौलिक हकअन्तर्गत धारा १६ (१) मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ तथा धारा ३५ (१) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन् भनेर उल्लेख छ ।

प्रदेश २ सरकारले दलित सशक्तिकरण ऐन पारित गरेको छ र दलितहरूको समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन गरेको छ ।

कुटपिट गर्ने आरोपित सोही ठाउँका दिना साहले खर्च नतिर्दा र अस्पतालले खर्च नलिई घर फर्किन नदिंदा बन्धक भएको भन्दै शिवचन्द्रले अस्पतालले बाहिर निक्लिन नदिन सुरक्षा गार्ड खटाएको जानकारी दिनु भयो ।

वर्षाको समयमा आरोपित परिवारले बगाएको पानीले सदाको झुपडी डुबानमा परेपछि सदा दम्पतिले जथाभावी माटो नकाटन अनुरोध गर्दा साउन ५ गते आरोपितहरूले कुटपिट गरेर घाइते बनाएको पीडितले आरोप लगाउनु भयो ।
कुटपिटबाट घाइते सदा दम्पतीलाई स्थानीय क्लिनिकले अस्पताल जान सल्लाह दिएपछि उहाँहरू थप उपचारका लागि साउन ६ गते विराटनगरस्थित गोल्डेन अस्पताल भर्ना हुनु भएको थियो ।

इलाका प्रहरी कार्यालय कञ्चनरुपले आरोपित दिना साहलाई गिरफ्तार गरी अभद्र व्यवहारमा कारवाही थालेकोमा साउन ३२ गते जिल्ला सरकारी वकिलको कार्यालयको पत्र अनुसार रिहा भएका छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका डिएसपी नरेशकुमार सिंहले पीडित पक्षले अस्पतालमा लागेको खर्चको बिल ल्याउन नसक्दा आरोपितबाट उपचार खर्च तिराउन समस्या भएको बताउनु भयो ।

प्रहरीले बिल ल्याउन भने पनि अस्पतालले पैसा नतिरी बिल दिन नसकिने जनाउँदै आएको छ । धेरै आग्रह गरेपछि अस्पताल प्रशासनले साउन ३२ गते लेटरप्याडमा १ लाख २५ हजार ८ सय रुपियाँ खर्च भएको लेखेर दिएको छ ।

अस्पतालमा बसेको दिन थपिदै जाँदा खर्च पनि थपिदै जाने अस्पतालका प्रबन्धक ज्याउल हकले बताउनु भयो ।

हकले भन्नुभयो–‘उपचारलाई पहिलो प्राथमिकता दिइ हामिले पैसा नलिएर जीवन बचायौ, उपचार पछि भएको खर्च त पाउनु पर्‍यो ।’

मलियादेवी सदाले घर फर्किन नपाएपछि बन्धक बन्नु परेको बताउँदै नाबालक छोराहरू घरमा भोकै पर्खेर बसेको उल्लेख गर्नुभयो ।


मनोहरकुमार पोखरेल