अस्पतालको लापरवाहीका कारण शिशुकोे स्वास्थ्य अवस्था चिन्ताजनक

  ०७६ चैत १३ गते

फेटा गाउँपालिका–३ पुरैनिया निवासी २३ वर्षीया रिजवानी खातुनको चैत ११ गते बिहान कलैया अस्पतालमा रहेको प्रसुतिगृहको १२ नं बेडमा नवजात शिशु छोरीको जन्म भएको छ ।

जितपुर सिमरा उमनपा–१२ फत्तेपुर निवासी कलैया अस्पतालमा कार्यरत २० वर्षीया अनमी अन्जुमा खातुनले शिशुकी आमा रिजवानी खातुनलाई सुत्केरी भइसकेपछि लगाउने सुइ ‘डि भ्याक्सिन’ बच्चा जन्मना वित्तिकै शिशुलाई लगाइदिएकोले स्वास्थ्य अवस्था चिन्ताजक भएको पीडित परिवारका सकिल अन्सारीले आरोप लगाउनु भएको छ । अनमी अन्जुमाले भ्याक्सिन बच्चालाई भुलवस लगाएको स्वीकार गर्नु भएको छ ।

डा. प्रेम सङ्कर चौरसियाका अनुसार अस्पतालको गल्तीकै कारण शिशुलाई भुलवस भ्याक्सिन लगाएको हुनाले सोबाट पर्न जाने प्रतिकुल प्रभावको कलैया अस्पतालमा निशुल्क उपचार गर्ने बताउनु भएको छ ।

कलैया अस्पतालका अर्का चिकित्सक डा. हरीओम केशरीले जटिल समस्या आएमा नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लैजान पर्ने सल्लाह दिएको पीडित परिवारका ६० वर्षीय जैनुदिन अन्सारीले बताउनु भएको छ ।

शिशुको उपचार गराउन कलैया अस्पताल पुग्नु भएका पीडित परिवारका २८ वर्षीय फुल महमद अन्सारीका अनुसार अस्पतालका स्वास्थ्य प्राविधिकले बच्चाको उपचार गर्ने प्रयास गरिरहनु भएको छ ।

कलैया अस्पतालका मेडिकल सुपरिटेण्डेन वीरेन्द्र प्रसाद मण्डलले घटनाका विषयमा डा. हरिओम केशरी र प्रसुतिगृहमा सेवा प्रवाह गरीरहेका स्वास्थ्यकर्मीहरूसँग सल्लाह गरी समस्या समाधान गर्न पहल गरिरहेको बताउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका सिडिओ रुद्रप्रसाद पण्डितका अनुसार आमालाई लगाउने सुई नवजात शिशुलाई दिएको जानकारी उहाँले प्राप्त गर्नु भएको छैन । यस्तोे भएमा आफु तुरुन्त अस्पताल गएर अध्ययन गरि कारवाही गर्ने सिडिओे पण्डितले बताउनु भएको छ ।


भोलानाथ पौडेल