उपचाररत महिलाको मृत्यु, अस्पतालमा तोडफोड

  ०७६ कात्तिक ४ गते

पिनास रोगको उपचार गराउन भरतपुरस्थित चितवन मेडिकल कलेज (सिएमसी) अस्पतालमा आएकी नवलपुरस्थित मध्यविन्दु नगरपालिका–९ वसन्तपुरकी ३२ वर्षीया आशा ज्ञवालीको उपचारको क्रममै कात्तिक २ गते मृत्यु भएको छ ।

असोज २७ गते पिनासको अप्रेशन गरेकी ज्ञवालीको उपचारकै क्रममा मृत्यु भएपछि मृतकका आफन्तले दोषीमाथि कारबाही गर्नुपर्ने माग गर्दै अस्पताल परिसरमै दिनभरी नाराबाजी गरेपछि सो क्रममा जम्मा भएको समूहले कात्तिक ३ गते अस्पतालको मुल गेटमा तोडफोड गर्दा अस्पतालको अग्रभागको सिसा फुटेको छ ।

आक्रोशित समूहले अस्पतालमा तोडफोड गरेपछि उक्त समूहलाई हटाउन प्रहरीले ४० सेल अश्रुग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोइरालाले बताए ।

पीडित पक्ष र अस्पताल प्रशासनबीच भित्र वार्ता चल्दै गर्दा बाहिरको हुलदङ्गाले ढुङ्गामुढा गरेर अस्पतालमा तोडफोड गरेपति वार्ता बिथोलिएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले बताए ।

उनले भने–‘दुई पक्षबीच छलफल हुँदै गर्दा एक्कासी बाहिर तोडफोड भएपछि वार्ता बिथोलियो, तोडफोड पछि वार्तामा बस्ने वातावरण नै भएन ।’


दिपेन्द्र अधिकारी