द्वन्द्वपीडित बालकलाई इन्सेकद्वारा सहयोग

  ०७६ जेठ ८ गते

मालिकार्जुन गाउँपालिका–२ निवासी सरस्वती मावि सेलिचामामा कक्षा ६ मा अध्ययनरत १४ वर्षीय असहाय बालक नरेन्द्रसिंह धामीलाई जेठ ७ गते अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दार्चुला जिल्ला प्रतिनिधिमार्फत आर्थिक सहयोग गरिएको छ ।
photo20190523darchula (2)
आर्थिक अभावका कारण समस्यामा रहेका बालक धामीको पठनपाठनमा सहयोग पुगोस भन्ने उद्देश्यले २ हजार रुपियाँ नगद आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएका कारण नियमित विद्यालय पठाउन समस्या भएको भन्दै पीडितले दुई दिन अघि मात्रै इन्सेकलाई लिखित निवेदन दिएपछि उनको घरमै गएर सहयोग गरिएको इन्सेक जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीले बताए ।
photo20190523darchula (3)
पीडित बालकका बुवा आनसिंह धामी द्वन्द्वकालदेखि बेपत्ता छन् । तत्कालीन माओवादीको डरत्रासका कारण घर छोडेका धामी अझै फर्किएका छैनन् । उनको अवस्था अज्ञात छ । खोजी कार्यको लागि कुनै पहल भएको छैन ।

अहिले फुपू नाता पर्ने गङ्गा धामीले दुवै जनालाई संरक्षण गर्दै आएकी छिन् । बेपत्ता भएको कारण एकल महिलालाई राज्यले दिने सामाजिक सुरक्षा भत्ता समेत नपाएको उनको बालककी आमा पशुपति धामीले गुनासो गरिन् ।

सुस्त मनस्थिति भएकी धामीले भनिन्–‘पति बेपत्ता भएको १२–१३ वर्ष भयो । जिउँदो हुनुहुन्छ कि मरिसक्नु भयोे केही थाहा छैन ।’
photo20190523darchula (1)
सरस्वती मावि, सेलिचामाका विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिरासिंह धामीले इन्सेकले असहाय बालकलाई सहयोग गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा विद्यालयको तर्फबाट पनि बालकलाई सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।


नरेन्द्रसिंह कार्की