मानव अधिकार समूहको बैठक खर्च-असहाय महिलाको घर निर्माणमा

  ०७७ कात्तिक ७ गते

शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार संरक्षणका लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बिष्णुपुर गाउँपालिकामा गठित मानव अधिकार समूहले बैठकको खर्च गरिव तथा असहाय दलित महिलालाई प्रदान गरेको छ ।

बिष्णुपुर गाउँपालिका–६ को कार्यालयमा कात्तिक ६ गते बसेको मानव अधिकार समूहको बैठकले बैठकको चियानास्ताका लागि प्राप्त १ हजार ५ सय रुपियाँ सोही वडाकी घुरनी भनिने शान्तिदेवी सदाको घर निर्माणमा सहयोगका लागि दिने निर्णय गरेको इन्सेकका सहजकर्ता दिपक यादवले जानकारी दिनु भयो ।

photo20201023saptari (1)

समूहका अध्यक्ष रामानन्द रजकको अध्यक्षता एवम् इन्सेक मानार्थ सदस्य बैद्यनाथ झाको प्रमुख आतिथ्यतामा भएको बैठक पछि उक्त सहयोग रकम तत्कालै वडा अध्यक्ष बहादुर सदालाई हस्तान्तरण गरिएको छ ।

बैठकले वडा कार्यालय र पदाधिकारीलाई घर निर्माणका लागि थप सहयोग गर्न आग्रह गर्दै उक्त रकम हस्तान्तरण गरिएको अध्यक्ष रजकले बताउनु भयो ।

वडा अध्यक्ष सदा र वडा सदस्य रामकुमार रायले गाउँपालिका र व्यक्तिगत रुपमा घरवारविहीन सदाको घर निर्माणमा पहल र सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

मानव अधिकारमैत्री शासन व्यवस्था लागु गर्न वडा कार्यालय तत्पर रहेको उल्लेख गर्दै उहाँहरुले इन्सेकले बैठक भत्ता खर्च उपलब्ध गराएर घर निर्माणका लागि उत्प्रेरणा गरेको बताउनु भयो ।

ऐलानी जग्गामा रहेको सदाको फुसको छाप्रो भत्किएपछि आर्थिक अभावमा पुनर्निर्माण हुन सकेको छैन । मनोरोगी समेत रहेकी सदाका दुई छोरा र एक छोरी नाबालक छन् भने पतिको मृत्यु भइसकेको छ । छरछिमेकसँग मागेर गुजारा चलाइरहेकी सदाको परिवार सडकमै बस्दै आएको छ ।

मानव अधिकारको मुल्य र मान्यतालाई स्थापित गराउने उद्देश्यले इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने (इएलपी) परियोजना अन्तर्गत मानव अधिकार निगरानी समूह गठन भएको हो ।

कार्यक्रममा संविधानले सुनिश्चित गरेको शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकारलाई स्थापित गराउन सबै अधिकार सबैको पहुँचमा हुनु पर्नेमा इन्सेकका मानार्थ सदस्य झाले जोड दिनु भयो । गाँस, बास, आवास, शिक्षा र स्वास्थ्य अधिकारलाई संविधानले सुनिश्चित गरेको हुँदा कार्यान्वयन गर्ने काम स्थानीय सरकारको दायित्व रहेको बताउँदै झाले समस्या समाधानमा सामूहिक जिम्मेवारी आवश्यक रहेको बताउनु भयो ।

photo20201023saptari (3)


मनोहरकुमार पोखरेल