अश्लील हर्कत तथा यौन दुर्व्यवहार घटनाका ८० जना आरोपित कारबाहीमा

  ०७६ वैशाख ३ गते

सार्वजनिक यातायातमा अश्लील हर्कत तथा दुर्व्यवहार घटनाका ८० जना आरोपित कारबाहीमा परेका छन् ।

०७५ साउन १ गतेदेखि चैत मसान्तसम्म उपत्यकाका सार्वजनिक साधनमा अश्लील हर्कत गर्ने ३६, शारीरिक यौन दुर्व्यवहार गर्ने ३३, अश्लील गालीगलौज गर्ने ११ जनालाई गिरफ्तार गरी कारबाही गरेको महानगरीय प्रहरी कार्यालयका एसएसपी श्यामलाल ज्ञवालीले बताए ।

सबैजसो घटनामा पीडित महिला छन् । महानगरीय प्रहरीले सार्वजनिक यातायातलाई सुरक्षित र मर्यादित बनाउन सुरु गरेको ‘सेफ्टी पिन’ अभियानअन्तर्गत उनीहरू कारबाहीमा परेका हुन् ।

अभियानअन्तर्गत सार्वजनिक यातायातमा सादा पोसाकमा प्रहरी खटिने गरेका छन् । कुनै महिलाप्रति कसैले दुर्व्यवहार गरेको देखेलगत्तै उनीहरूले गिरफ्तार गर्ने गर्छन् ।

दुई वर्षदेखि प्रहरीले उपत्यकामा ‘सेफ्टी पिन’ अभियान सुरू गरेको हो । जसले सार्वजनिक यातायातमा हुने विकृतिमा धेरै हदसम्म कमी आएको प्रहरीले जनाएको छ ।


बिमला पौडेल