अवैध खोला उत्खन्न रोक्न गएका युवाहरूमाथि आक्रमण, स्थानीयहरूद्वारा गाउँपालिका घेराउ

  ०७७ जेठ २२ गते

बटेश्वर गाउँपालिका–१ स्थित बडहडी खोलामा हुँदै आएको अवैध खोला उत्खनन् रोक्न गएका २० वर्षीय संजयकुमार महतोलाई जेठ २० गते क्रसर सञ्चालकहरूले घरेलु हतियार प्रहार गरी घाइते बनाएका छन् । उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार सम्भव नभएपछि जेठ २१ गते थप उपचारको लागि काठमाडौँ पठाइएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर पप्पु नायकले बताउनु भएको छ ।

घटनास्थल पुगेका ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको टोलीका अनुसार उत्खनन् गर्ने पक्षको रड प्रहारबाट संजयको टाउको, कान र तिघ्रामा चोट लागेको र स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

गाउँबस्तीलाई नै जोखिममा पार्ने गरि हुँदै आएको उत्खनन् रोक्न पुगेका युवाहरूमाथि क्रसर सञ्चालकहरूले घरेलु हतियार प्रहार गरेको स्थानीय जनकलाल महतोले बताउनु भयो । खोला उत्खनन् गर्नेहरू पेस्तोल, खुकुरी र रड बोकेर आएको घाइतेका भाई १५ वर्षीय शत्रुधन महताले बताउनु भयो ।

ठेकेदार ३० वर्षीय शत्रुघन महतोका अनुसार उत्खनन् गर्ने समूहले आफुले पाएको मापदण्ड भन्दा बढी खनेको कारण त्यसो नगर्न पटक–पटक आग्रह गरेको तर उनीहरूले अटेर गरेका कारण गाउँबासीहरू आक्रोशित भएको बताउनु भयो ।

जेठ २० गते दिउँसो गाउँलेहरूको करिव ५ सयको सङ्ख्यामा गएको टोलीले अवैध उत्खनन् बन्द गराएपछि पुनः राति ८:०० बजे उत्खनन् सुरू गरेपछि युवाहरू खोलामा रोक्न पुगेका थिए ।

बटेश्वर गाउँपालिकाले स्थानीय शत्रुहन महतोलाई १५ लाख रुपियाँमा गाउँपालिका अन्तर्गत पर्ने खोलाको साढे ६ फिट सतहसम्म खन्ने गरी ठेक्का दिएको छ । तर, ठेकेदारले १५ देखि ३० फिट गहिरोसम्म खनेर ग्राभेल निकाल्दै आएकाले गाउँलेहरू आक्रोशित भएका हुन् ।

बटेश्वर गाउँपालिका–१ का वडा अध्यक्ष शैलेन्द्र महतोले खोलामा अनियमित रूपमा उत्खनन् भइरहेको बारेमा आफुले गाउँपालिका अध्यक्षलाई पटक–पटक छलफल गरि रोक्न आग्रह गर्दा पनि अटेर गर्दै आएको बताउनु भयो । स्थानियबासिन्दाहरू करिव ५ सयको सङ्ख्यामा जेठ २० गते र जेठ २१ गते बटेश्वर गाउँपालिका घेराउ गरेका छन् ।

प्रहरीले घटनामा संलग्न स्थानीय ३० वर्षीय मनोज कुमार महतो लगायतको खोजि कार्य भइरहेको  बताएको छ ।


दीपेन्द्रप्रसाद सिंह