अलपत्र बालिकाको उद्धार, इन्सेकको पहलमा परिवारको जिम्मा लगाइयो

  ०७७ भदौ २३ गते

विवाह गर्ने भन्दै अलपत्र पारिएकी बागचौर नपा–११ बाँफुखोलाकी १६ वर्षीया बालिकालाई इन्सेकको पहल र प्रहरीको सहकार्यमा अविभावकको जिम्मा लगाइएको छ ।

तीन महिनादेखि फोनबाट परिचित दाङ तुल्सीपुर घर बताउने अन्दाजी १९ वर्षीय अर्जुन केसीले विवाह गर्छु भनेपछि ०७७ भदौ १९ गते घरबाट निस्किएको पीडित बालिकाले इन्सेक प्रतिनिधिसँग बताउनुभयो ।

बालिकाका अनुसार दुइजना युवाहरु मध्ये एकले अर्जुन म हुँ भन्दै  स्थानीय बजार पातीहाल्नबाट मोटरसाइकलमा कालाखेत बजारसम्म ल्याएका थिए । श्रीनगर बजारमा काम छ भन्दै बाइकमा गएका दुईजना राति ९ बजेसम्म नआउँदा स्थानीयको घरमा बसेको बालिकाको भनाइ छ ।

युवाले भदौ २० गते पुनः फोनबाट बोलाएर श्रीनगर गएको तर सम्पर्क नभएपछि घर फर्किन गाडी नपाएको अवस्थामा स्थानीयले सोधपुछ गरी आफ्नो घरमा राखेर इन्सेकलाई जानकारी गराएका थिए ।

इन्सेकले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपपछि भदौ २१ गते बालिकालाई सदरमुकाम ल्याई बाल विवाह र त्यसको सजाय लगायत अन्य कुराको बारेमा परामर्श दिइएको थियो ।

बालिकाका परिवार उनीसँग आक्रोशित भएकाले त्यस दिन सदरमुकामस्थित सुरक्षित आवास गृहमा राखिएको र बालिकालाई घरमा पुनस्र्थापना लागि उनका बुवासँग समेत फोनमार्फत घटनाको प्रकृतिका बारेमा जानकारी गराइएको थियो ।

पीडित बालिकालाई भदौ २२ गते आफन्तको जिम्मा लगाइएको र पीडित पक्षले आरोपितविरूद्ध उजुरी नदिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर उमाकान्त जोशीले जानकारी दिनुभयो ।


मिना बुढाथोकी