अलपत्र बालबालिका उद्दार गरी परिवारको जिम्मामा

  ०७६ असोज १४ गते

भक्तपुरको होस्टेलमा अलपत्र परेका हुम्लाका आठजना बालबालिकालाई उद्दार गरी असोज १२ गते परिवारको जिम्मा लगाइएको छ ।

भक्तपुरको चाँगुनारायण नपा–९ मा रहेको सौडोल महिला समाज नामक संस्थामा जोखिम अवस्थामा रहेका बालबालिकालाई असोज १२ गते उद्दार गरी सोही दिन परिवारको जिम्मा लगाइएको बालबालिकाको क्षेत्रमा कार्यरत नविन समाजका कार्यकारी निर्देशक धनबहादुर लामाले बताए ।

प्रमुख जिल्ला अधिकारी विनिता भट्टराई, सर्केगाड गाउँपालिका–७ का वडा अध्यक्ष कृष्णप्रसाद जैसी, इन्सेक प्रतिनिधि र नेपाल पत्रकार महासङ्घ हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहरालगायतको रोहवरमा उद्दार गरिएका बालबालिकालाई परिवारको जिम्मा लगाइएको हो ।

भक्तपुरबाट १० जना बालबालिका उद्दार गरिएकामा दुईजना बालबालिकालाई काठमाडौँमै आफन्तको जिम्मा लगाइएको र बाँकी चारजना बालक र चारजना बालिकालाई अभिभावकको जिम्मा लगाइएको हो । उद्दार गरिएका बालबालिका पाँच देखि १२ वर्षको उमेर समूहका रहेका छन् ।

राम्रो विद्यालयमा पढाउने र राम्रोसँग राख्नेलगायत विभिन्न लोभलालच देखाइ काठमाडौँ लगिएका हुम्लाका बालबालिका सौडोल महिला समाज नामक संस्थाको होस्टलमा राखिएको थियो ।

बालबालिकालाई अभिभावकसँग गरिएको सहमति बमोजिम राम्रोसँग नराखेपछि नविन समाज संस्थाले उद्दार गरेर अभिभावकको जिम्मा लगाएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् ।

बालबालिकालाई काठमाडौँ पुर्‍याएको आरोपमा सर्केगाड गाउँपालिका–२ की कल्पना बुढालाई प्रहरीले काठमाडौँबाटै गिरफ्तार गरी अनुसन्धान गरिरहेको अहिले छानविनका क्रममा काठमाडौँको प्रहरी हिरासतमा रहेको नविन समाजका कार्यकारी निर्देशक लामाले बताए ।

बालबालिकालाई काठमाडौँमा पुर्‍याउनका लागि दलालले अभिभावकसँग जनही २० हजार देखि ५० हजार रुपियाँसम्म लिएको सर्केगाड गाउँपालिका–२ का विरमान बुढाथोकीले बताए ।


नन्द सिंह