अलपत्र अवस्थामा रहेका १६ जना बालबालिकाको उद्धार

  ०७६ वैशाख २५ गते

बुढानिलकण्ठ नगरपालिका–८, गल्फुटारमा अलपत्र अवस्थामा रहेका १६ जना बालबालिकालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले वैशाख २३ गते उद्धार गरेको छ ।

जुम्ला–कालिकोटको विभिन्न ठाउँका बालबालिकालाई कालिकोट घर भएका जयबहादुर बिकले बोर्डिङ स्कुलमा पढाइदिन्छु भन्दै हरेक विद्यार्थीका अभिभावकबाट १ लाख ५० हजार रुपियाँका दरले रकम उठाएर काठमाडौँ ल्याएको खुल्न आएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका इन्स्पेक्टर कमल विष्टले जानकारी दिए ।

उद्धार गरिएका बालकहरूमा १५ वर्षीय सन्तोष यदुमगर, १० वर्षीय जगत सिंह, १२ वर्षीय तेजेन्द्र बुढा, १४ वर्षीय जगदिस बिक, नौ वर्षीय लोकेन्द्र रोकाया, पाँच वर्षीय गणेश कटुवाल, ११ वर्षीय निर्मल नेपाली, १२ वर्षीय दिनेश बिक, ११ वर्षीय बसन्त बिक, आठ वर्षीय दिनेश शाही, नौ वर्षीय प्रविन्द्र पोखरेलका साथै १३ वर्षीय विकास बिक रहेका छन् ।

त्यसैगरी उद्धार गरिएका बालिकाहरूमा सात वर्षीया पवित्रा बिक, नौ वर्षीया रेखा बिक, नौ वर्षीया सञ्जु बिक र १२ वर्षीया सरिता पोखरेल रहेको प्रहरीले जनाएको छ ।

उद्धार गरिएका बालबालिका जनालाई हिमाली नविन समाज महाराजगञ्ज र साझा मञ्च बालुवाटारको संरक्षणमा राखिएको प्रहरीले जनाएको छ । आरोपित जयबहादुर बिक फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


विमला पौडेल