अर्धवार्षिक परीक्षासम्म पनि विद्यार्थीले किताब पाएनन्

  इलाम । ०७३ असोज ४ गते

इलामको देऊमाई नगरपालिकास्थित भगवती उच्च माध्यमिक विद्यालयका कक्षा ७, ८, ९ र १० का विद्यार्थीहरूले अहिलेसम्म पुरै किताब पाएका छैनन् । असोज ५ गतेबाट अर्धवार्षिक परीक्षा सुरु हुने भएपनि हालसम्म पुस्तक नपाएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

समयमा नै पुस्तक दिनका लागि पटकपटक विद्यालयलाई ध्यानाकर्षण गराउँदा पनि विद्यालयले 'अभाव छ । पुस्तक बजारमै छैन' भन्ने गरेको अभिभावक तिलबिक्रम लिम्बुले बताए । उनले भने-'अझैसम्म विद्यार्थीलाई पुरै पुस्तक दिइएको छैन । किन पुस्तक आएन ? भनेर खोजी गर्दा विद्यालय प्रशासन मौन रहन्छ ।'

विद्यालयका प्राचार्य पुष्प चौंलागाईंले विद्यालयमा पुस्तक नहुनु सामान्य समस्या भएको बताए । उनले भने-'कक्षा ७, ८, ९ र १० का धेरै विद्यार्थीसँग २/४ थानका दरले पुस्तक छैन । त्यो ठूलो समस्या होइन ।'

जिल्ला शिक्षा कार्यालयले भने चालु शैक्षिक सत्रका लागि २०७२ साल फागुनमा नै पुस्तक खरिद गर्नका लागि ७५ प्रतिशत रकम विद्यालयको खातामा निकासा पठाएको कार्यालयका शाखा अधिकृत निर्मल ढुङ्गेलले जानकारी दिए ।

'हामी विद्यार्थीले पुस्तक पाएको भरपाई आएपछि मात्रै अन्तिम किस्ताको २५ प्रतिशत रकम विद्यालयलाई उपलब्ध गराउँछौं ।' उनले भने- 'हामीले भगवती उमाविलाई सबै रकम असारमै उपलब्ध गराइसकेका छौं ।'


कोकिला ढकाल